गृहपृष्ठ पोखरामा प्याराग्लाइडिङ वर्ल्डकपको तयारी
पोखरामा प्याराग्लाइडिङ वर्ल्डकपको तयारी
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले आर्थिक कारणले गर्दा साफ गेम्स वैशाखसम्म सर्न सक्ने बताएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च कास्कीले बुधबार पोखरामा आयोजना गरेको पत्रकर भेटघाट कार्यक्रममा उनले साफ गेम्सको सबै तयारी तीव्र पारिए पनि आर्थिक कारणले प्रभावित हुनसक्ने बताएका हुन् ।
‘साफ गेम्स तोकिएकै मिति फागुनमै गर्ने पक्षमा छौं, त्यसको तयारीमा काठमाडौं र पोखरामा खेलकुद पूर्वाधार निर्माण तथा मर्मतसम्भार भइरहेको छ,’ उनले भने, ‘पूर्वाधारका हिसाबले पाँच महिनाभित्र तयारी पूरा गर्ने पक्षमा छौं ।’ तर, साफलाई लक्षित पूर्वाधार निर्माणमा केही रकम अपुग भएकाले अर्थ मन्त्रालयले समयमै रकम नदिएमा साफ तोकिएको मितिमा नहुने उनले बताए । साफ गेम्सलाई लक्षित गरी हालसम्म करिब २ अर्ब खर्च भइसकेको छ ।
आगामी ६ महिनाभित्र पोखरा रंगशालामा अन्तर्राष्ट्रियस्तरकै प्यारापिटसहितको फुटबल मैदान निर्माण हुने सदस्य सचिव विष्टले दाबी गरे । आगामी नोभेम्बर १ देखि ५ सम्म पोखरामा पहिलोपटक प्याराग्लाइडिङको वल्र्ड च्याम्पियनसिप हुने तय भएको पनि सदस्य सचिव विष्टले जानकारी गराए ।
पोखरामा यसअघि दुई पटक प्याराग्लाइडिङको प्रि-वर्ल्ड कपसमेत भएकाले गर्दा यसपटक वर्ल्ड कप गर्ने बाटो खुलेको उनको भनाइ छ । प्याराग्लाइडिङमा राज्यले करिब ४० लाख लगानीबाटै पदक हात पारेको सदस्य सचिव विस्टले बताए ।
४५ देश सहभागी एसियन गेम्समा नेपाल हाल ३३औं स्थानमा छ । साफ गेम्समा प्याराग्लाइडिङसमेत थपिएकाले अब पोखरामा सागका सात खेल हुने सम्भावना छ ।
प्रकाशित समय : ०१:२६ बजे



















