गृहपृष्ठ ढिकुरपोखरीमा भदौ २३ देखि खुला नकआउट फुटबल प्रतियोगिता
ढिकुरपोखरीमा भदौ २३ देखि खुला नकआउट फुटबल प्रतियोगिता
कास्कीको अन्नपूर्ण गाँउपालिकास्थित ढिकुरपोखरीमा खुल्ला नकआउट फुटवल प्रतियोगिता हुने भएको छ । ढिकुरपोखरी युवा सञ्जालको आयोजनमा भदौ २३ देखि २८ गतेसम्म ढिकुरपोखरीमा प्रतियोगिता हुने बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा आयोजना हुने प्रतियोगितामा १२ टिमको सहभागिता रहने मेला संयोजक विकास गुरुङले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार एक सय ११ र उपविजेताले नगद ५५ हजार पाँच सय ५५ रुपैयाँ पुरस्कार पाउनेछन् ।
माछापुच्छे« माविको प्रांगणमा हुने मेलामा फुटबल प्रतियोगिताका साथै तीज गीत, ठेलो तथा रस्साकसीलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुने मेला संयोजक गुरुङले जनाए । मेलामा ‘स्थानीय निकाय र महिला नेतृत्व’ विषयक वडा स्तरीय तीजगीत प्रतियोगिता पनि हुने भएको छ ।
प्रतियोगितामा प्रथम हुनेले २० हजार, द्वितीय हुनेले १५ हजार, तृतीय हुने समूहले १० हजार तथा सान्त्वना समूहले ५ हजार साथमा प्रमाणपत्र प्राप्त गर्नेछन् । तीज गीतमा २२ टिमले सहभागिता हुनेछन् । गाउँपालिका अध्यक्ष युवराज कुँवरले ढिकुरपोखरी तीज मेलाको ऐतिहासिक महत्व रहेको बताउँदै मेलालाई खुलेर सहयोग गर्न सरोकारवाला समक्ष आग्रह गरे । मेला सम्पन्न गर्न १२ लाख १० हजार खर्च लाग्ने अनुमान गरिएको छ ।
प्रकाशित समय : ०१:१२ बजे



















