गृहपृष्ठ पप्पु कन्स्ट्रक्सनलार्इ कारबाही हुन्छ : मन्त्री महासेठ
पप्पु कन्स्ट्रक्सनलार्इ कारबाही हुन्छ : मन्त्री महासेठ
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले छानबिन समितिको प्रतिवेदनका आधारमा अबको आठ दिनभित्रमा पप्पु कन्ट्रक्सनबारे निर्णय लिने बताएका छन् । मरिण खोलामा निर्माण भएको पुल उद्घाटन गर्न सिन्धुली आइपुगेका मन्त्री महासेठले पप्पु कन्ट्रक्सनले सिन्धुलीलगायत देशैभर निर्माण सुरु गरेका योजना अलपत्र पारी जनतालाई दुःख दिएकाले सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको जानकारी दिए ।
‘१० दिनभित्र प्रतिवेदन दिने गरी दीपक श्रेष्ठको संयोजकत्वमा समिति गठन भएको छ । आज दुई दिन बितेको र अबको आठ दिनमा समितिले प्रतिवेदन बुझाएपछि कारबाही हुन्छ,’ मन्त्री महासेठले भने], ‘कति आयोजनाको जिम्मा लिएको र कति प्रतिशत काम सम्पन्न गरेको छ, त्यसका आधारमा कारबाही गर्न म प्रतिबद्ध छु ।’
सरकारसँग प्रतिबद्धता गर्ने तर काम नगर्ने जुनसुकै कन्ट्रक्सनलाई सरकारले कारबाही गर्ने उनले दाबी गरे । मन्त्री महासेठले सम्झौता अवधिभन्दा डेढ वर्षअघि पुलको निर्माण कार्य सम्पन्न गरेको भन्दै पुल निर्माण गर्ने कालिका तुदि रसुवन जेभी काठमाडौंलाई पुरस्कृत गर्ने बताए ।
यस्तै २५ वर्ष भन्दा लामो यातायातको आलोपालो प्रणाली अहिले तोडिएको बताउँदै देशका केही जिल्लामा अझै पनि यातायात व्यवसायीले आलोपालो प्रणाली जारी राखेको गुनासो आएकाले कुन-कुन जिल्लामा आलोपालो प्रणाली जारी छ आफूलाई वा मन्त्रालयमा जानकारी दिन आग्रह गरे । दशैंअगावै यातायातको आलोपालो प्रणाली सदाका लागि अन्त्य गर्ने प्रतिबद्धता उनले जनाए ।
प्रकाशित समय : ०१:०२ बजे



















