गृहपृष्ठ आज कुशे औंशी, बुबाको मुख हेर्ने दिन
आज कुशे औंशी, बुबाको मुख हेर्ने दिन
आज कुशे औँशी तथा बाबुको मुख हेर्ने दिन । आफ्नो बाबुलाई विशेष सम्मान गरी मनाइँदैछ । ‘पितृदेवो भव’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले पितालाई विशेष सम्मान गर्छन् ।
आफ्नो बाबुलाई सम्मानको साथ छोराछोरीलाई उपहार दिई एकआपसमा शुभकामना साटासाट गर्ने गर्छन । प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ ।
दिवंगत पिताका नाममा काठमाडौको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वरमा गई तर्पण, सिदादान र श्राद्ध गरेमा पितृ ऋणबाट मुक्त भइने शास्त्रीय मान्यता छ । गोकर्णेश्वर उत्तरगया, बेत्रावती उत्तरगयालगायत पवित्र स्थलमा गई पितृप्रति सम्मानका साथ श्राद्ध गर्दा घर, मामाघर र ससुराली तर्फका तीनरतीन पुस्ताका पितृले मोक्ष पाउने धार्मिक विश्वास छ । आज गोकर्णेश्वर र बेत्रावतीलगायत स्थानमा भव्य मेला लागेको छ । गोकर्णमा विशेष मेला लाग्ने भएकाले आजको औँसीलाई ‘गोकर्णे औँसी’ पनि भनिन्छ ।
भाद्र कृष्ण औँसीकै दिन वर्षभर देवकार्य, पितृकार्यलगायत धार्मिक कर्म गर्न आवश्यक पर्ने कुश उखेलिन्छ । आजका दिन वैदिक मन्त्रोच्चारणपूर्वक उखेलिएको कुश वर्ष दिनसम्मका कर्ममा प्रयोग गर्न सकिने र अन्य दिन उखेलिएको कुश त्यसदिन मात्र प्रयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको छ ।
हिन्दुहरुले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । दिवंगत पिताका नाममा काठमाडौको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वरलगायत देशका विभिन्न तिर्थहरुमा मेला लागेको छ । तर्पण, सिदादान र श्राद्ध गरेमा पितृ ऋणबाट मुक्त भइने शास्त्रीय मान्यता अनुरुप विहानैदेखि भक्तजनको घुइचो छ ।
प्रकाशित समय : १३:११ बजे



















