गृहपृष्ठ बारामा जीप दुर्घटना, १२ जना घाइते
बारामा जीप दुर्घटना, १२ जना घाइते
बारामा बुधबार दिउँसो जीप दुर्घटना हुँदा १२ जना भन्दा बढी घाइते भएका छन् । सिमराका प्रहरी निरीक्षक सुभाष हमालका अनुसार हेटौंडा सडकखण्डअन्तर्गत बाराको तीन नम्बर पुल नजिक बुधबार दिउँसो हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको बा ५ च ५४५० नम्बरको जीप दुर्घटना भएको हो ।
प्रहरीका अनुसार दुर्घटनामा परी घाइते भएकामध्ये ११ जनाको सिमरास्थित अल्पाइन अस्पताल र अन्यको वीरगञ्जमा उपचार भइरहेको छ । दुर्घटनामा घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको जनाइएको छ ।
मालसमान ओसारपसार गर्ने जीपले क्षमताभन्दा बढी यात्रु बोकेर आएका कारण अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको भनाई छ । अल्पाइन अस्पतालमा उपचार गराईरहेका घाईते अनिल माझीका अनुसार सुनसान सडकमा तीव्र गतिमा गाडी चलाएका कारण जीप पल्टिएको हो ।
नेपाल स्वतन्त्र चालक संघर्ष समितिले सवारी ऐन संशोधनको माग राख्दै आन्दोलन गर्दै आएका कारण यातायात ठप्प थियो । त्यसैले जीपले क्षमताभन्दा बढी यात्रु बोकेको थियो ।
माझीसहित अल्पाइन अस्पतालमा दिनेशकुमार साह, दुर्गेन्द्र माझी, रामभरोस राय, बाजुल मन्सुरी, अफताब आलम, बिरेन्द्र सहनी, लालबाबु साह, ललन साह, गुलसन पटेल, गुडु माझीको उपचार भइरहेको छ । अल्पाइन अस्पतालमा उपचार गराइरहेका सबै घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित समय : २२:४३ बजे



















