गृहपृष्ठ सरकार हावादारी भयो : शिव रिजाल
सरकार हावादारी भयो : शिव रिजाल
विराट व्यापार संघ २४ सयभन्दा बढी व्यापारी सदस्य भएको संस्था हो । र, यो संस्थाको नेतृत्व गरिरहेका छन्, शिव रिजालले । विराट व्यापार संघको नेतृत्व पाएयताका दुई वर्ष रिजालले व्यवसायीका समस्या समाधानमा आफूलाई केन्द्रित गरेका छन् । व्यापार संघले गरेका काम कारबाही र आगामी योजनाबारे प्रदेश संयोजक किशोरसंगम दियालीले गरेको कुराकानी :
विराट व्यापार संघले व्यवसायीको हितमा के कस्ता कार्य गर्दै आएको छ ?
विराट व्यापार संघ विभिन्न विषयगत क्षेत्रका व्यवसायी जस्तैः फर्निचर, साना घरेलु उद्योगी, वितरकलगायत अन्य विभिन्न क्षेत्रका व्यवसायीका समस्या समाधानका लागि स्थापित साझा संस्था हो । यो संस्थामा हालसम्म २ हजार ४ सयभन्दा बढी सदस्य छन् । विराट व्यापार संघको नामअनुसार नै हामीले व्यवसायीको हकहित संरक्षण र सम्वर्धनमा काम गर्दै आएका छौं । व्यवसायीका समस्या पहिचान गरी समाधान गर्नु हाम्रो मूल दायित्व हो । व्यवसायीलाई एक ठाउँमा ल्याउन र उनीहरुका समस्या केलाउनका लागि हामी समय–समयमा विभिन्न सम्मेलनसमेत आयोजना गर्ने गर्छौं । यस क्षेत्रका अन्य संघ–संस्था, उद्योग संगठन, मोरङ व्यापार संघलगाय संस्थासँग समन्वय गरेका काम गर्ने गरेका छौं । त्यस्तै, विराट व्यापार संघले विभिन्न व्यापारिक मेला आयोजना गर्ने गरेको छ । हामी समय–समयमा सरकारी निकायहरु राजस्व कार्यालय, भन्सार कार्यालयलगायतसँग अन्तक्र्रिया पनि गरिरहेका हुन्छौं ।
संघको नेतृत्व लिएयताका दुई वर्षमा तपाईंले के–के गर्नुभयो ?
मेरो नेतृत्वमा विभिन्न व्यावसायिक सम्मेलन भएका छन् । हम्रो संघमा विभिन्न विषयगत समिति पनि छन् । सबैसँग समन्वय गरेर एकताबद्ध भएर समस्या पहिचान गरी समाधान गर्ने गरेको छु । औषधि व्यवसायी संघ, सुनचाँदी व्यवसायी संघ, इलेक्ट्रोनिक्स संघलगायतका विषयगत क्षेत्रगत संघ–संस्थालाई समेटेर उनीहरुका समस्या समाधानका लागि पहल गर्ने गरेको छु । व्यावसायिक जुन क्षेत्रको समस्या हो, त्यही क्षेत्रसँग समन्वय गरेर समाधान गर्दै अगाडि बढिरहेका छौं । अब सबै क्षेत्रका व्यवसायीलाई एकै ठाउँमा ल्याएर एकै थलोबाट समस्या समाधान हुनेगरी सरकारी निकायका प्रमुख, जिल्ला प्रशासन कार्यालय, विराटनगर महानगरपालिका, जिल्ला प्रहरी कार्यालय, भन्सार, आन्तरिक राजस्व कार्यालय सबैको उपस्थितिमा बृहत सम्मेलन गराएर समस्या समाधान हुने गरी काम गरेको छु ।
नामअनुसार विराट व्यपार संघ विराटनगरमा मात्र सीमित छ ?
होइन । झट्ट सुन्दा विराटनगरमा मात्र सीमित छ कि भन्ने लाग्छ । नामका कारण त्यस्तो लाग्नु स्वाभाविक पनि हो । तर, हामी विराटनगरमा मात्र नभएर पूरै मोरङ जिल्लामा काम गर्छौं । हाम्रो यो केन्द्रीय संघ भएकाले मोरङ जिल्लाबाहेक सुनसरी र झापामा पनि शाखा छन् । ती शाखाका समस्या समाधानमा पनि हामीले निरन्तर अग्रसरता देखाउने गरेका छौं ।
विराट व्यापार संघकै अगुवाइ तथा पहलमा विराटनगरका विभिन्न पसलमा अनिवार्य रुपमा मूल्यसूची बोर्ड राखिएको थियो तर अहिले अधिकांशले हटाएका छन्, राखिए पनि अपडेट गरेको पाइँदैन किन ?
हामीले विगतका दिनमा पनि मूल्यसूची राख्न लगाएका थियौं । हामीले अहिले पनि मूल्यसूची राख्न र अपडेट गर्न अनिवार्य लगाएका छौं । आगामी दिनमा विभिन्न निकायसँग समन्वय गरेर अनुगमन गरेर अनिवार्य मूल्यसूची राख्न लगाउनेछौं । त्यसैगरी, बजार अनुगमन गरी उत्पादित मिति र एक्सपायर मिति पनि रहे/नरहेको हेरेर उपभोक्तालाई गुणस्तरीय वस्तुमात्र उपलब्ध गराउने कामको अगुवाइसमेत गर्ने काम हामी गरिरहेका छौं ।
अहिले भारततर्फ एकीकृत जाँचचौकी निर्माण सम्पन्न भइसकेको छ तर नेपालतर्फ बनेको छैन । बथनाहबाट कटहरिसम्म रेल्वे सेवा जोड्ने योजनामा पनि ढिलाइ भइरहेको छ, यस्ता आयोजनामा भएको ढिलाइले कस्तो असर परिरहेको छ ?
एकीकृत जाँच पास चौकी भारततर्फ पूर्णरुपमा निर्माण सम्पन्न भएर सञ्चालनमा आइसकेको छ । नेपालतर्फ चाहिँ जग्गा अधिग्रहण गरी निर्माण गर्नका लागि जग्गा हस्तान्तरणमै ढिलाइ भएकाले निर्माण हुन नसकेको हो । अब अहिले चाहिँ लगभग सबै प्रक्रिया पुगिसकेको छ । चाँडै सम्पन्न हुनेछ भन्ने हामीले जानकारी पाएका छौं । यो निर्माण भइसकेपछि जोगवनीमा जाम हट्नेछ । अहिलेसम्म धेरै समयसम्म मालवाहक सवारीसाधन रोकिएर बस्ने हुँदा लागतसमेत बढ्ने गरेको छ । आईसिपि बनेर सञ्चालनमा आएपछि हामीलाई धेरै नै फाइदा हुन्छ । रेल्वेका विषयमा ट्रयाक खोल्ने काम सम्पन्न भइसकेको छ । कटहरीमा रहने रेल्वे स्टेसनका लागि पनि जग्गाकै समस्या थियो र त्यो समस्याको समाधान भइसकेको हामीले जानकारी पाएका छौँ । अहिले रेल्वेको काम लगभग अन्तिम चरणमा छ । हामीले भारतलगायत तेस्रो मुलुकबाट व्यावसायिक प्रयोजनका लागि आयात गरेका सामान रेलबाट सिधै आइसिपी चेकपोस्टमा आइपुग्छ र त्यहाँ चेक भएपछि सिधै कटहरि पुग्छ । जसका कारण लागत कम हुनुका साथै आयात गरेका सामान सहज रुपमा र छिटो नेपाल आइपुग्छ । यसले विराटगरको मात्र नभएर राष्ट्रकै विकासमा ठूलो योगदान पु¥याउनेछ भन्ने हामीलाई लागेको छ । स्वेदेशी उत्पादन निर्यातमा पनि निकै सहज हुनेछ ।
स्थिर र बलियो सरकार बन्यो, अब मुलुकको विकासले गति लिन्छ भनिँदै आएको छ, सरकार गठन भएको सात महिना बितिसक्दा समृद्धिका संकेत कतिको देखिँदै छन् ?
नेपालको इतिहासमै यति बलियो सरकार पहिलोपटक बनेको छ । सरकारले चाहने हो भने विकासमा कायापलट ल्याउनसक्ने अवस्था छ । तर, यो सात महिनाको गतिविधि हेर्दा त्यस्तो संकेत देखिँदैन । व्यापार–व्यवसायमा अनेक किसिमका झन्झट थपिएको छ । हामीले कुरा गर्दा समस्या क्षणिक हो, समाधान हुन्छ भन्ने जवाफ आउँछ । हामी पनि राम्रैका लागि होला भनेर बसेका छौं । तर, विश्वास गर्न सक्ने आधार भने बनेको छैन । सरकारले उत्पादन तथा निर्यात बढाउने कार्यक्रम ल्याउन सकेको छैन । आन्तरिक उत्पादन खपत गर्ने योजना सरकारसँग छैन । आन्तरिक उत्पादन बढाउन सरकारले उद्योगी व्यवसायीलाई इन्करेज गर्न सकेको छैन । जसका कारण अर्थतन्त्र आयातमुखी बन्दै गएको छ । विकास पूर्वाधारतर्फ पनि वर्षौंदेखिका आयोजना अलपत्र छन् । नयाँ सरकार गठन भएको सात–आठ महिना पुगिसक्दा पनि ती आयोजनामा कुनै सुधार भएका छैनन् । न सडक बनेका छन् न त अन्य पूर्वाधार निर्माणका ठोस आधार तयार भएका छन् । यसअर्थमा सरकार हावादारी छ र अहिलेसम्म उसलाई विश्वास गर्ने कुनै आधार देखिएको छैन ।
प्रकाशित समय : २३:१५ बजे



















