गृहपृष्ठ कांग्रेसलाई अरिङ्गालले टोके औषधि हुन्छ
कांग्रेसलाई अरिङ्गालले टोके औषधि हुन्छ
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता योगेश भट्टराईले कांग्रेसलाई अरिङ्गालले टोके औषधि हुने भन्दै व्यङ्ग्य गरेका छन् । बुधबार राजधानीमा आयोजित नयाँ पाईला अनलाइन समाचार पोर्टलको उद्घाटन समारोहमा भट्टराईले अरिङ्गालले टाकिदिएमा कांग्रेसलाई सक्रिय बन्न सहयोग पुग्ने टिप्प्णी गरे ।
भट्टराई भन्दा अघिल्ला वक्ता रहेका कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीले नै आफ्ना नेताहरुलाई अरिंगाल बन्न निर्देशन दिएको भन्दै व्यँग्य गरेपछि भट्टराईले यस्तो जवाफ फर्काएका हु्न् ।
छोटो मन्तव्य राख्दै कांग्रेस नेता शर्माले आफूले धेरै बोलेमा अरिंगालले टोक्न सक्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीप्रति व्यँग्य गरेका थिए । जवाफमा भट्टराईले आफ्ना पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीको बचाउ गर्दै कांग्रेसलाई एक्टिभ पार्न अरिङगाललाई टोकाउनु पर्ने टिप्पणी गरे ।
‘सत्तामा बस्दा–बस्दा कांग्रेसको नशा च्यापिएको छ, अरिङ्गालले टोक्यो भने कांग्रेसको नशा एक्टिभ हुन्छ, यसैले अरिङ्गाल कांग्रेसको लागि औषधी हो ।’ पछिल्लो समय ओलीको भनाईको विरोधमा आएका टिप्पणी लाई चिर्दै भट्टराईले भने ।
नेकपाका दिवंगत नेता पोष्टबहादुर बोगटीको स्मृती सभामा प्रधानमन्त्री ओलीले सरकारका विरोधीहरुविरुद्ध अरिंगाल झै जाइलाग्न निर्देशन दिएका थिए । ओलीको सोही अभिव्यक्तिलाई लिएर विपक्षी कांग्रेसका नेता कार्यकर्ताले सरकार र सत्तारुढ दल नेकपामाथि व्यँग्य गर्दै आएका छन् ।
नेकपाका नेता भट्टराईले भने प्रसंगबस आएको कुनै एक शब्द लाई सरकार वा प्रधानमन्त्रीको मुख्य धारणा भनेर नबुझ्न आग्रह गरे ।
२०४७ सालको अन्तरिम सरकारमा गृहमन्त्री योगप्रसाद उपाध्ययको उदारहण दिँदै उनले त्यो बेलाकै जस्तो टिप्प्णी नगर्न आग्रह गरे । ‘त्यो बेला पनि महिला हिंसा, हत्या, बलात्कारका घटनाहरु धेरै भएको थियो, त्यतिबेला गृहमन्त्रीले अब महिलाहरुले नङ पाल्नुपर्यो, खुर्सानीको धुलो बोकेर हिड्नुपर्यो भनेका थिए,’ भट्टरार्ईले तत्कालीन घटनासँग अहिलेको परिस्थीती दाँज्दै भने ‘न त्यो राज्यको धारणा थियो न त गृहमन्त्रीको अभिव्यक्तिको मुल सार नै थियो, प्रसंगबस निस्किएका विषयलाई अतिरञ्जित गरियो, अहिले पनि ठिक त्यस्तै भएको छ ।’
प्रकाशित समय : ००:०१ बजे



















