काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

ज्यामिरे गाउँ अर्थात् ‘बुटवलको कर्णाली’

19.09K
shares

बुटवल ५ पटक सम्म देशकै उत्कृष्ट नगरपालिका घोषणा भएको उपमहानगरपालिका हो । यो उपमहानगर पूर्ण साक्षर घोषणा पनि भइसकेको छ । तर  सोही उपमहानगरभित्र एउटा यस्तो बस्ती छ जहाँबाट बालबालिका आधारभूत शिक्षा आर्जन गर्नकै लागि दैनिक ४ घण्टा पैदल हिड्न बाध्य छन् । त्यो पनि जंगलको बाटो हुँदै ।

बुटवल उपमानगरपालिका–१२ मा रहेको ज्यामिरे गाउँबाट अहिले ८ जना बालबालिका दैनिक रुपमा  सैनामैना नगरपालिकमा रहेको जनभावना माविमा पढ्न आउछन् ।

उनीहरुको जहिले पनि  दुई वटा विद्यालय पोसाक हुन्छन् । घरबाट विद्यालय नजिकै आउदा सम्म उनीहरु आउट डे«स (अन्य कपडा)मा हुन्छन् भने विद्यालय नजिकै आएपछि विद्यालय पोसाक लगाउछन् र विद्यालय जान्छन् । विद्यालयबाट घर जाँदा पनि उनीहरुको सोही प्रक्रिया जारी रहन्छ । स्थानीय अभिभावक तुल बहादुर घर्तीले यसो गर्नु विद्यार्थीको बाध्याता रहेको बताए ।

ज्यामिरेबाट सात जना विद्यार्थीहरु दैनिक दुई घण्टा हिँडेर तल तामनगरमा अध्ययन गर्न जान्छन् । विद्यालय नजिक नहुँदा र जंगलको बाटो हिड्न पर्दा पढाइ निकै अप्ठ्यारो भएको विद्यार्थी विना गहा मगरको गुनासो छ । भर्खर कक्षा १२ पास गरेर माथिल्लो तहमा अध्ययन गर्ने गाहा त्यहाँका साना भाइ–बहिनीहरुलाई विद्यालयसम्म ल्याउने लैजाने अभिभावक समेत उनी बनेकी छिन् । उनले नै तल्लो तहका विद्यार्थीहरुलाई अभिभावकत्व ग्रहण गरी विहानिको समयमा विद्यालय लैजाने र साँझको समयमा विद्यालयबाट घर लैजाने गर्दछिन् ।

यो गाउँमा ८ घर छन् । छुट्टीएर भिन्न भएका र तर पनि घर परिवार सारेका समेत जोड्दा १४ घर छन् । स्थानीयहरु अहिले बाख्रापालन र भुइँकटहर खेती गर्दै आएका छन् । धेरैको मुख्य पेशा पशुपालन हो ।

 

जनप्रतिनिधिको चासो

बुटवल उपमानगरभित्र रहेर पनि कर्णली जस्तै बनेको बुटवल–१२ को ज्यामिरेमा पहिलो पटक जनप्रतिनिधिहरु गएका छन् । बुटवल उपमहानगरपालिका–१२ ज्यामिरे टोलमा गएर जनप्रतिनिधिले चासो दिएका छन् ।

नगरप्रमुख शिवराज सुवेदीले जंगलमा दैनिक दुई घण्टा हिंडेर पढ्न जाने बालबालिकाहरुको सुरक्षा र वैकल्पिक व्यवस्था पहिलो प्राथमिकतामा राखेको बताएका छन् । उनले बालबालिकाको माग र चाहना बमोजिम तत्कालै उचित व्यवस्था गर्नेतर्फ आफूले पहल सुरु गर्ने बताए ।

ती घर परिवारले आफूहरुको बस्ती जोखिममा रहेको भन्दै जनप्रतिनिधिसमक्ष उचित व्यवस्थापनको माग गरेका थिए । उनीहरुका गुनासो सुनेपछि नगरप्रमुख सुवेदी, उपप्रमुख गुमादेवी आचार्यसहितको टोलीले उक्त बस्तीको स्थलगत अवलोकन गरेको थियो ।

त्यहाँको अवस्था, सम्भावना र त्यसको कार्यान्वयनका लागि स्थानीयहरुकै सुझावका आधारमा योजना बनाइने प्रमुख सुवेदीको भनाइ छ । कृषि उद्यम र पशुपालनको प्रचूर सम्भावना रहेको र त्यसका लागि यातायात र खानेपानीको व्यवस्था पहिलो प्राथमिकता रहेको भन्दै नगरप्रमुख सुवेदीले निजी क्षेत्र तथा माथिल्ला सरकारहरुसँगको समन्वयमा सम्भावनाको थप अध्ययन गरिने बताए ।

‘यो क्षेत्रलाई नगरको पर्यापर्यटनका रुपमा विकास गर्न सकिन्छ, कृषि र पशुपालनका सम्भावनाका बारेमा पनि थप छलफल आवश्यक छ,’ नगरप्रमुख सुवेदीले भने, ‘स्थानीय समुदायको आवश्यकता र राय सुझावका आधारमा नयाँ कार्यक्रम बनाइने छ ।’

स्थानीयहरुले बस्तीसम्म पुग्ने बाटो बनाइदिन, गाउँमै अक्षर चिन्न सक्ने गरी बालकक्षाको व्यवस्था मिलाइदिन, विद्युतको व्यवस्था मिलाउन तथा पानीको मुहान संरक्षण र सिँचाईको व्यवस्था मिलाइदिन आग्रह गर्दै आएका थिए । तर, त्यहाँका युवाहरुले भने गाउँलाई नै स्थानान्तरण गर्न आग्रह गरेका छन् । उनीहरुका अभिभावकहरुले भने गाउँसम्म मोटरबाटो नबनेकाले समस्या उत्पन्न भएको र पानीको समस्या वर्षेनी बढ्दो रहेको भन्दै व्यवस्था मिलाउन आग्रह गरेका थिए ।

नगरप्रमुख सुवेदीले वैकल्पिक उपायका बारेमा नगर कार्यपालिकामै छलफल गरिने बताए । उनले बस्तीको जोखिमका बारेमा आफूले जानकारी राखेको र अब सुरक्षाका उपायहरुलाई तत्कालै गम्भीरताका साथ अगाडि बढाइने बताए ।

उपप्रमुख गुमावेदी आचार्यले बालबालिकाहरुले पढ्नकै लागि धेरै सास्ती र जोखिम मोल्नु परेको विषयलाई आफुले गम्भिरताका साथ लिएको बताइन् । वडा अध्यक्ष दुर्गा सुवेदीले बस्तीको उचित व्यवस्थासहित संरक्षण वा स्थानान्तरणका बारेमा बृहत छलफल गरिने बताए ।