प्रदेश १ : आफ्ना योजना केन्द्रमा तानिएको प्रदेश सरकारलार्इ थाहा छैन
वि.सं.२०७५ मंसिर २० बिहीवार २०:१६
shares

प्रदेश–१ लाई हस्तान्तरण गरिएका दुई ठूला आयोजना फेरि संघले केन्द्रमै तानेको छ । सहरी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा बजेटसहित प्रदेश सरकारलाई हस्तान्तरण गरेको नँया शहरी आयोजना र जनता आवास कार्यक्रम संघमा तानेको हो ।
प्रदेश सरकारले रातो किताबमा समेत राखेको आयोजना प्रदेश सरकारलाई जानकारी नदिई पुनः संघमा तानेको हो । शहरी विकास मन्त्रालयले एक महिना अघिमात्र ती आयोजना प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो ।
प्रदेश सरकारले ती आयोजना कार्यान्यनका लागि प्रक्रिया अगाडि बढाउने तयारी गरिरहेको थियो । यही बेला प्रदेश सरकारलाई पनि जानकारी नदिई पुन संघीय सरकारले अन्तर्गतको प्रदेश शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वय इकाई मार्फत काम अगाडि बढाउने तयारी गरेको हो ।
शहरी विकास तथा भवन निर्माण एक नं प्रदेश कार्यालयका प्रमुख दिगम्बर ठाकुरले संघीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेका नँया शहर निर्माण आयोजना र जनता आवास कार्याक्रम कार्यान्वयनका लागि प्रकृया अगाडि नबढ्दै पुनः संघले तानेको जानकारी दिए ।
उनले संघले चालु आर्थिक वर्षका लागि बजेटसहित यी दुई कार्यक्रम प्रदेशलाई हस्तान्तरण गरेको स्मरण समेत गरे । संघले हुलाकी राजमार्ग अन्तर्गत मोरङको रंगेलीमा नँया शहर निर्माण आयोजनाका लागि ३ करोड रुपैयाँ छुटाएको थियो ।
त्यसै गरी जनता आवास कार्यक्रमका लागि १ अर्ब १ करोड ३३ लाख रुपैयाँ विनियोजन गरेको थियो । जसमा यो कार्यक्रम प्रदेश नं. १ अन्तर्गतका मोरङ, सुनसरी र उदयपुरमा सञ्चालन हुने थियो । शहरी विकास तथा भवन निर्माण एक नं प्रदेश कार्यालयले यी दुबै आयोजना योजना स्विकृतका प्रदेश सरकार अन्तर्गतको भौतिक पूर्वधार तथा विकास मन्त्रालयमा पठाएको थियो । जसमा यी दुई कार्यक्रम मन्त्रालयबाट स्विकृत हुने चरणमा रहेका थिए ।
प्रदेश कार्यालयले चालु आर्थिक वर्षका लागि संघले हस्तान्तरण गरेका यी दुई सहित विराटनगर चक्रपथ, कार्यालय मर्मत सुधार शीर्षकका लागि कार्यक्रम स्विकृतका लागि मन्त्रालय पठाएको थियो । कार्यालयले क्रमगत योजनाका लागि ४ करोड ९५ लाखको चक्रपथ र मोरङ तथा सुनसरी दुई जिल्लामा कार्यालय मर्मतका लागि भनेर ३५ लाख रुपैयाका कार्यक्रम मन्त्रालयबाट स्विकृत हुने चरणमा रहेको छ । प्रदेश सरकारले कार्यक्रम कार्यान्वयका लागि भखरै मात्र संरचना निर्माण गर्ने क्रममा रहेको छ ।

























