टुँडिखेलमा निर्मित ‘डेड सी’मा मेडिसिटी अस्पतालको निःशुल्क शिविर
वि.सं.२०७५ मंसिर २० बिहीवार २०:३६
shares

प्लास्टिकरहित वातावरणका लागि अपिल गर्दै स्टेम फाउन्डेसन र नेपाल सरकार वातावरण विभागको पहलमा आयोजित कार्यक्रममा नेपाल मेडिसिटी अस्पतालले स्वास्थ्य शिविर सञ्चालन गरेको छ । विभिन्न क्षेत्रबाट करिब एक लाख प्लास्टिक संकलन गरी ‘डेड सी’ बनाइएको थियो ।
प्रत्येक दिन प्रयोग हुने र फालिने प्लास्टिकले प्रकृतिमा ठूलो नोक्सान पुर्याएको र सन् २०२० सम्ममा अवस्था भयावह बन्न सक्ने भएकाले सचेतनाका लागि अभियान सुरु गरिएको हो । कार्यक्रममा विद्यार्थीलगायत विभिन्न संघसंस्थाको संलग्नता रहेकोमा नेपाल मेडीसिटीले शिविरसहित आवश्यक आकस्मिक उपचारको समेत व्यवस्था गरेको थियो ।
वातावरण संरक्षणप्रति ध्यानाकर्षण गराउने अभियानमा मेडिकल पार्टनरको रुपमा अस्पताल सहभागी भएको हो । प्लास्टिकको प्रयोगले प्रकृति र प्राणीको स्वास्थ्यमा प्रतिकूल असर पार्र्ने भएकाले गिनिज रेकर्ड राख्ने कदममा रहेको अभियानमा साथ दिएको अस्पतालले जनाएको छ । जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा मेडिकल टोलीले विद्यार्थीको स्वास्थ्य जाँचसँगै सचेतनामूलक अन्तर्क्रियामा सहभागिता जनाएका छन् ।

























