सार्वजनिक जग्गा किर्ते गर्ने महन्थ पक्राउ
वि.सं.२०७५ मंसिर २१ शुक्रवार ००:०७
shares

जनकपुरमा सार्वजनिक विद्यालयको अढार्इ बिघा जग्गाको कीर्ते गरी लालपूर्जा बनाएर बेचेको अभियोगमा जनकपुरस्थित रत्नसागरका महन्थ बैकुण्ठ दासलाइ प्रहरीले पक्राउ गरेको छ । अर्बौं पर्ने स्कुलको जग्गाको नक्कली लालपूर्जा बनाएर बिक्री गर्दै आएका महन्थ दासलाइ जग्गा कीर्ते जालसाजी गरी बेचेको अभियोगमा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाले बुधबार पत्रकार सम्मेलनमार्फत बुधबार काठमाडौंबाट समातिएका दासलाई सार्वजनिक गरेको हो । जनकपुरबाट फरार भइ काठमाडौंमा लुकिछिपी बस्दै आएका दासलार्इ अपराध अनुसन्धान ब्युरो र जनकपुर प्रहरीको संयुक्त प्रयासमा पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपालियाले जानकारी दिए ।
जनकपुरधाम-८ स्थित हजारी जनक विद्यापीठ संस्कृत स्कुलको नाममा रहेको जग्गा महन्थ दास र उनका सहयोगी अशोक शर्माले मिलोमतोमा कीर्ते गरी नक्कली लालपूर्जा बनाएर बेचेका थिए । धनुषा प्रहरीले अशोक शर्मालार्इ यस अघि नै पक्राउ गरिसकेको छ । अढार्इ अर्बभन्दा बढी मूल्य पर्ने विद्यापीठ स्कुलले भोगचलन गर्दै आइरहेको गुठीको उक्त जग्गाको संरक्षकमा बैकुण्ठ दास र मोहीमा अशोक शर्माको नाम उल्लेख गरी नक्कली लालपूर्जा बनाएको अभियोग उनीहरूमाथि लगाइएको छ ।
हजारी जनक विद्यापीठले भोगचलन गर्दै आइरहेको करिब तीन बिघा जग्गा महन्त दासले नक्कली लालपूर्जा बनाइ हडपेको भन्दै प्राचार्य विजय चौधरीले अदालतमा मुद्दा दायर गरेका थिए । २०५० सालदेखि विद्यापीठले भोगचलन गर्दै आइरहेको सिट नम्बर १३५४/१४ को कित्ता नम्बर ६२ को २ कठ्ठा ११ धुर तथा सिट नम्बर १३५४ र १५ को कित्ता नम्बर २८ को २ बिघा ८ कठ्ठा १४ धुर जग्गा फर्जी लालपूर्जा बनार्इ महन्थ दासका सहयोगी शर्माले बेचेपछि घटना बाहिरिएको हो ।
उनीहरूले गुठी संस्थानको नाममा रहेको करिब तीन विघा जग्गाको नक्कली लालपूर्जा घरमै बसेर बनाएर बेचेको प्रहरी उपरीक्षक थपालियाले जनाए । केन्द्रीय गुठी संस्थानले विद्यापीठलाई उपलब्ध गराएको उक्त जग्गामा क्याम्पस व्यवस्थापनले घेराबेरा गरी भौतिक संरचनासमेत निर्माण गरिसकेको छ । तर दास र शर्माले निजी जग्गा भएको भन्दै बिक्री गरेपछि प्राचार्य अदालत गएका थिए ।

























