मध्यपश्चिमाञ्चल विश्वविद्यालय : पढाइ कम, अान्दोलन बढी
वि.सं.२०७५ मंसिर २३ आइतवार २१:५१
shares

कर्णालीको शैक्षिक विकासका लागि भन्दै मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्थापना भयो । वि.स २०६७ सालमा स्थापना भएको विश्वविद्यालय स्थापनार्थ थुप्रै कर्णालीबासीले पसिना बगाएका छन् । चन्दा र दानबाट विश्वविद्यालय स्थापनाका लागि जनताले गरेको योगदानको कदर हुन सकेको छैन । विश्वविद्यालयमा प्रायः आन्दोलन, तोडफोड तथा तालाबन्दी भइरहन्छ ।
शिक्षक नियुक्ती गर्दा होस् या पठनपाठन निरन्तर नभएर होस् या पदाधिकारीहरुकै भागबण्डा नमिलेर होस् जे भए पनि वर्षमा कुनै यस्तो महीना छैन जसमा आन्दोलन नभएको होस् । आन्दोलनमा पर्दा पछाडिका खेलाडी भने पदाधिकारी नै हुन्छन् ।
फरक धारका विद्यार्थीलाई आपसमा लडाएर आफूले सत्ता हात पार्ने विश्वविद्यालयको यो खेल नयाँ नभएको अखिल क्रान्तिकारीका सुर्खेत जिल्ला संयोजक जगत ढकाल बताउँछन् । ‘सत्ताको खेलमा विद्यार्थी आपसमा लड्न बाध्य छन्,’ उनी भन्छन्, ‘मैले थाहापाए अनुसार विश्वविद्यालय स्थापनाको ८ वर्षसम्म सयौं आन्दोलन भएका छन् । यसले विद्यार्थीहरुको भविष्य डामाडोल भएको छ ।’
पछिल्लो समय परिक्षा व्यवस्थापक, क्याम्पस प्रमुख नियुक्तीको बाहानामा दुई महीनादेखी विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दि भएको छ । ‘आईतबार पनि प्रजातन्त्रवादी प्राध्यापक संघ, केहि विद्यार्थीहरुका समुहले विश्वविद्यालयको पठनपाठनलाई अवरुद्ध हुने गरी गरिएको क्याम्पस प्रवेशद्धारको तालाबन्दि र केहि संकायमा रहेको तालाबन्दि सरासर नाजायज छ,’ ढकालले भने ।
विश्वविद्यालयमा भएका नियुक्तिहरु र विश्वविद्यालय नीति र विधिभन्दा बाहिर भएको भए कानुनी बाटो अपनाउनु पर्ने थियो । तर विद्यार्थीको भविष्यमाथी खेलबाड गर्ने गरी पठनपाठन अवरुद्ध गर्नु व्यक्तीगत स्वार्थको पराकाष्टा भएको ढकालको भनाई छ ।

रजिष्ट्रार निलम्बनको विरोधमा पठनपाठन बन्द
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार महेन्द्रकुमार मल्ल गत मंसिर २० गते निलम्बनमा परेपछि नेविसंघ निकट विद्यार्थी तथा प्रजातान्त्रिक प्राध्यापक संघले आन्दोन गर्दै आएको छ । विश्वविद्यालयको केन्द्रीय कार्यालयमा ताला तथा केन्द्रीय क्याम्पसमा धर्ना, नाराबाजी र प्रवेशद्धारमा समेत आन्दोलनकारीले ताला लगाएका छन् ।
विश्वविद्यालयले विद्यार्थीहरुको माग सम्बोधन नगरेकोले ८० दिनदेखी आन्दोनल गर्न बाध्य भएको स्वतन्त्र विद्यार्थी युनियनका सदस्य रोशन बस्नेतले बताए । ‘विद्यार्थीहरुसँग विगतदेखि गरिएका सहमतिहरु पूरा नगरेको कारण विगत ८० दिनदेखी आन्दोलन गर्न बाध्य भएका हौं,’ बस्नेतले भने, ‘पछिल्लो समय मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार महेन्द्रकुमार मल्ललाई बिना कशुर उपकुलपतिको दबाबमा दुई तिहाई सरकारको दम्भमा निलम्बन गरिएको विरोधमा विद्यालयको पठनपाठन बन्द गरिएको हो ।’
‘आफूहरुले विद्यार्थीको हक-हितको निम्ती आन्दोलन गरेको र उपकुलपतिबाट माग पूरा गर्न वार्ता गर्नुको साटो भाग्दै हिँड्ने काम भएको छ,’ बस्नेतले भने, ‘भेट्न जाँदा उल्टै संयुक्त संगठनका नेताहरुलाई अपहरणको मुद्धामा उजुरी दर्ता गराई विद्यार्थीहरुलाई भाग्न बाध्य गराईएको छ ।’ आफूहरुका माग विश्वविद्यालयले सुनिदिनुपर्ने र रजिष्ट्रार मल्ललाई पदबहाली गराउनु पर्ने बस्नेतको भनाई छ ।
त्यस्तै नेविसंघका नेता दीपकराज विसीले विश्वविद्यालयको इतिहासमा विद्यार्थीहरुको माग परिपूर्तिका लागि वार्ता बस्दै लिखित रुपमा सम्झौता हुने र त्यसको कार्यान्वयनमा प्रशासनले तदारूकता नदेखाउँदा आन्दोलनले यो रुप लिएको हो । विश्वविद्यालयका निलम्बित रजिष्ट्रारलाई पुनर्वहाली गर्नुपर्ने उनको माग छ ।

पठनपाठन बन्द भएको विरोधमा आन्दोलन
मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा पठनपाठन बन्द गरेको भन्दै आइतबार विद्यार्थीहरुले आन्दोनको विरोधमा आन्दोलन गरेका छन् । उनीहरुले पठनपाठन बन्द गरेको विरोधमा नाराबाजी समेत गरेका थिए । पठनपाठन शुचारु गर्नुपर्ने, विद्यार्थीको भविष्यमाथि खेलवाड गर्न नपाईने भन्दै विद्यार्थीहरुले आन्दोलन गरी प्रजातन्त्रिक प्राध्यापक संघले लगाएको ताला तोडेका छन् ।
त्यसक्रममा फरक धारका विद्यार्थी नेता तथा कार्यकर्ताबीच झडप भएको छ । अनेरास्ववियु सुर्खेत जिल्ला सचिव विवेचना खनालले विश्वविद्यालयलाई राजनीतिको अखडा बनाउन नहुने बताइन् । ‘कसैको पद जानु र आउनु हाम्रो सरोकारको विषय होइन,’ खनालले भनिन्, ‘विद्यार्थी राजनीति एकातिर छ, तर समग्रमा विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने अधिकार कसैलार्इ छैन ।’
उनका अनुसार विश्वविद्यालयको तालाबन्दी छिटोभन्दा छिटो खोलेर पठनपाठन सुचारू गर्नुपर्नेमा खनालले जोड दिइन् । त्यस्तै विद्यार्थी महेन्द्रकुमार थापाले विश्वविद्यालय राजनीति गर्ने थलो नभई गरिब, जेहेन्दार विद्यार्थीको शैक्षिक संस्था हुनुपर्नेमा जोड दिए । ‘कसैको पदको लागि विद्यार्थी परिचालन गरी आपसमा विद्यार्थी-विद्यार्थीबीच द्वन्द्व सिर्जना गर्नु राम्रो होईन,’ थापाले भने, ‘त्यसैले विश्वविद्यालयलाई साँच्चिकै विश्वविद्यालय बनाउने हो भने व्यक्तिपिच्छे राजनीतिलाई बन्द गरी शैक्षणिक कार्य शुरु गर्नुपर्दछ ।’
सरस्वतीको मन्दिरको रुपमा रहेको विश्वविद्यालयमा नै राजनीतिको ठूलो खेल खेली फरक धारका विद्यार्थीहरुमा नै लडाई गराईंदैछ । यो लडाईंले विद्यार्थीको हित हुँदैन । निश्चित राजनीतिकर्मीलाई मात्रै फाईदा गराउँने भन्दै विद्यार्थीहरूले समेत तालाबन्दीको विरोध गरेका छन् ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा हाल ६ संकाय छन् । मानविकी तथा सामाज शास्त्र संकाय, व्ययवस्थापन संकाय, शिक्षा शास्त्र संकाय, ईन्जिनियरिङ्ग र कानुन संकाय गरी ६ वटा संकाय सञ्चालनमा रहेको विश्वविद्यालयमा पढाई भन्दा आन्दोलन, तालाबन्दी र विरोध बढी हुने गरेको छ ।
आन्दोलनको कारण विद्यार्थीहरुको समयमै परीक्षाफल प्रकाशित नहुने, प्रशासनको काम समयमै नहुने, विद्यालयको भवन, पाठ्यक्रम, खानेपानी लगायतका भौतिक पूर्वाधार र प्रशासनका कुनै पनि काम राम्रोसँग अगाडि गएका छैनन् । जसका कारण विद्यार्थी मात्रै होइन अभिभावक समेत हैरान् छन् । सुनौलो भविष्यको सपना बोकेर आएका विद्यार्थीहरुलाई सत्ताको खेलमा लडाईरहँदा के उनीहरुको सपना पूरा होला ? तालाबन्दी र आन्दोलन गर्ने पक्षले पनि सोच्ने कि ?

























