काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बराह सहकारी ठगी प्रकरणमा दुई जना पक्राउ

420
shares

इनरुवा । सुनसरी धरान उपमहानगरपालिकामा रहेको बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम अपचलन तथा ठगी गरेको आरोपमा दुई जना बुधबार पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा संस्थाका संस्थापक धरान उपमहानगरपालिका–१२ घर भइ काठमाडौं महानगरपालिका–२२ बस्दै आएका ४५ वर्षीय शिवकुमार विश्वकर्मा (लामिछाने) र धरान उपमहानगरपालिका–१५ निवासी ३३ वर्षीया अस्मिता भण्डारी रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए ।

दुवै जनालाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त प्रहरीको टोलीले नेपाल–भारत सीमावर्ती क्षेत्रबाट दुवै जनालाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक खड्काले बताए ।

पक्राउ परेका भण्डारी बचत तथा ऋण सहकारी संस्थाको ऋण उपसमिति सदस्य, ग्राहक सेवा (कस्टमर केयर) कर्मचारी तथा बराह ग्रुपको कोशी प्रदेश सचिवालयकी सदस्य हुन् ।

सहकारीसँग सम्बन्धित सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा नेपाल सरकार वादी रहेको मुद्दामा १७ हजार १० जना बचतकर्ता पीडित रहेको छ । शङ्कर थापा सहित चार हजार २४३ जनाको जाहेरीका आधारमा दुवै जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यस मुद्धामा १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९१३ रुपैया बिगो दाबी रहेको छ ।

बराह सहकारीको मुख्य कार्यालय धरानमा रहेको र सहकारीसँग आबद्ध नेपालभर ३० वटा तथा विदेशमा चारवटा कम्पनी स्थापना गरी विभिन्न मितिमा बचतकर्ताले जम्मा गरेको रकम अपचलन तथा ठगी गरेको आरोप छ ।

पक्राउ परेका दुवै जना माथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।