एपिएफ महिला गोल्डकपको फाइनलमा
वि.सं.२०८३ मंसिर ३ बिहीवार ०७:२८
shares

सुनसरी। नेपाल आर्मी फुटबल क्लबलाई २–० गोलले पराजित गर्दै सशस्त्र प्रहरी बल (एपिएफ) क्लब प्रथम धरान अन्तरराष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
धरान उपमहानगरपालिका–१६ स्थित धरान रङ्गशालामा बुधबार राति सम्पन्न पहिलो सेमिफाइनलमा दुई विभागीय टोलीबीच भएको प्रतिस्पर्धामा एपीएफले पहिलो हाफमै दुई गोल गरेको थियो । खेलको नवौँ मिनेटमा एपिएफका अनिता बस्नेतले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन् ।
त्यस्तै, क्याप्टेन गीता राणाले पहिलो हाफको ४४औँ मिनेटमा अर्को गोल थपेकी थिइन् । खेलमा एपिएफकी गीता राणा ‘प्लेयर अफ दी म्याच’ घोषित भइन् । उनलाई नगद १० हजार पुरस्कार प्रदान गरिएको आयोजक फुटबल क्लबका अध्यक्ष तथा प्रतियोगिता संयोजक सन्तोष राईले जानकारी दिए ।
क्वाटरफाइनलमा भारतको झारखण्डस्थित अक्वा फुटबल क्लबलाई ७–० गोलले पराजित गर्दै एपिएफ सेमिफाइनलमा प्रवेश गरेको थियो । त्यस्तै, आर्मीले क्वाटरफाइनलमा बागमती युथ क्लब सर्लाहीलाई ९–० गोलको फराकिलो अन्तरले हराउँदै एपिएफसँग पहिलो सेमिफाइनलमा प्रतिस्पर्धा गरेको हो ।
प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज नेपाल पुलिस क्लब र आयोजक स्वर्णिम फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेलको विजेताले फाइनलमा एपिएफसँग उपाधिका लागि भिड्नेछ ।
डी–१९ क्लब र स्वर्णिम फुटबल क्लबको संयुक्त आयोजनामा भइरहेको प्रतियोगिता यही मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले ट्रफीसहित रु पाँच लाख र उपविजेताले रु तीन लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई इभी स्कुटर प्रदान गरिनेछ भने व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई जनही रु १५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

























