काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

४२ करोडको सडक चार वर्षदेखि अधुरै, अर्को सडकको ठेक्का पनि अलपत्र

441
shares

सुर्खेत । पश्चिम सुर्खेतका दुई महत्त्वपूर्ण सडक निर्माण अलपत्र परेपछि चौकुने गाउँपालिकाले कर्णाली प्रदेश सरकारसँग गुहार मागेको छ। गाउँपालिकाको प्रशासनिक केन्द्र गुटुदेखि घाटगाउँ जोड्ने सडक र राष्ट्रिय गौरवको मदन भण्डारी राजमार्गअन्तर्गत बड्डीचौर–खम्बागाडे सडक निर्माणमा ढिलाइ भएपछि गाउँपालिकाले मुख्यमन्त्रीसमक्ष तत्काल निर्माण अघि बढाउन माग गरेको हो ।

गाउँपालिका अध्यक्ष खड्क बि.क.(विवश)ले मंसिर २ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई छुट्टाछुट्टै पत्र पठाउँदै दुवै सडक निर्माणमा आवश्यक पहल गरिदिन आग्रह गरेका छन् ।

पश्चिम सुर्खेतका नागरिकको दैनिक जनजीवनसँग प्रत्यक्ष जोडिएका यी सडक लामो समयदेखि अलपत्र पर्दा स्थानीयले आवागमन, कृषि उपज ढुवानी, शिक्षा र स्वास्थ्य सेवामा समस्या भोग्नुपरेको गाउँपालिकाले जनाएको छ ।

४२ करोडको सडक चार वर्षमा पनि बनेन

मदन भण्डारी राजमार्गअन्तर्गत बड्डीचौरदेखि खम्बागाडेसम्मको करिब १३.९ किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्रका लागि अनक–जयदेव जेभी बाँकेसँग २०७९ असार १४ गते ठेक्का सम्झौता भएको थियो ।

४२ करोड ४७ लाख ६१ हजार रुपैयाँ लागतमा निर्माण गर्ने गरी सम्झौता भएको सडक २०८१ असार २४ गतेभित्र सम्पन्न गर्नुपर्ने थियो । तर निर्धारित समयमा निर्माण सम्पन्न हुन सकेन ।

सडक निर्माणको जिम्मेवारी पाएको अनक–जयदेव जेभीमध्ये सहायक निर्माण व्यवसायी जयदेव जेभीले प्रभावकारी काम गर्न नसकेपछि मुख्य निर्माण कम्पनी अनक कन्स्ट्रक्सनले पछिल्लो समय निर्माणको जिम्मेवारी आफैँ सम्हालेको छ ।

जग्गा प्राप्ति, रुख कटानलगायत सरकारी प्रक्रियामा भएको ढिलाइ र निर्माण व्यवसायीको कमजोर कार्यसम्पादनले सडक निर्माण प्रभावित भएको हो ।

२०८३ भदौ ३० गते प्रकाशित विवरणअनुसार सडकको भौतिक प्रगति ५० प्रतिशत र वित्तीय प्रगति ४० प्रतिशत मात्रै पुगेको थियो। पूर्वाधार विकास निर्देशनालयले निर्माण सम्पन्न गर्न २०८४ जेठ २४ सम्म म्याद थपका लागि मन्त्रालयमा प्रस्ताव पठाएको जनाएको छ ।

गुटु–घाटगाउँ सडक पनि अधुरै

गाउँपालिकाको प्रशासनिक केन्द्र गुटुदेखि घाटगाउँसम्म जोड्ने सडकको निर्माण कार्य पनि ठेक्का सम्झौता भएर अधुरै छाडिएको गाउँपालिकाले मुख्यमन्त्रीलाई पठाएको पत्रमा उल्लेख गरेको छ ।

निर्माण व्यवसायीले बीचमै काम छाडेपछि सडक जीर्ण बनेको र स्थानीय नागरिकलाई आवतजावतमा कठिनाइ भएको गाउँपालिकाको भनाइ छ ।

यस सडकसँग जोडिएको घाटगाउँ–गुटु–सालघारी–कोइरालाबास–कुइनेभिर सडक आयोजना पनि कर्णाली प्रदेश सरकारको रुग्ण आयोजना रुपमा लिएको छ । आयोजनाको ठेक्का २०७९ असार ८ गते भएको थियो । २०८२ पुस २९ गतेभित्र सम्पन्न गर्नुपर्ने आयोजनाको काम निर्धारित समयमा पूरा हुन सकेको छैन । मन्त्रालयसम्बन्धी सार्वजनिक विवरणमा यसको भौतिक प्रगति ४० प्रतिशत रहेको उल्लेख छ ।

मुख्यमन्त्रीलाई तत्काल पहल गर्न आग्रह

गाउँपालिकाले दुवै सडकको निर्माण कार्य तत्काल अघि बढाउन सम्बन्धित निर्माण व्यवसायीलाई कार्यक्षेत्रमा परिचालन गर्न माग गरेको छ ।

निर्माण व्यवसायीले काम नगरे प्रचलित कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाएर सडक निर्माण सम्पन्न गराउन गाउँपालिकाले प्रदेश सरकारसँग आग्रह गरेको छ ।

गुटु–घाटगाउँ सडकको दुरवस्थाले दैनिक उपभोग्य वस्तु तथा कृषि उपज ढुवानी, विद्यार्थीको विद्यालय आवतजावत र बिरामीलाई आकस्मिक अवस्थामा अस्पताल पु¥याउनसमेत समस्या भइरहेको पत्रमा उल्लेख छ ।

त्यस्तै, बड्डीचौर–खम्बागाडे सडकमा हिउँदमा धुलो र वर्षायाममा हिलो तथा पहिरोका कारण यातायात सञ्चालनमा समस्या हुने गरेको गाउँपालिकाले जनाएको छ । दुवै पत्रको बोधार्थ भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, पूर्वाधार विकास निर्देशनालय, मदन भण्डारी राजमार्ग आयोजना कार्यालय र जिल्ला प्रशासन कार्यालय सुर्खेतलाई समेत पठाइएको छ ।

वर्षौँदेखि सडकको सास्ती खेप्दै आएका पश्चिम सुर्खेतका नागरिकका लागि यी सडक कहिले सम्पन्न हुन्छन् भन्ने प्रश्न अझै अनुत्तरित छ । गाउँपालिकाले मुख्यमन्त्रीसमक्ष ध्यानाकर्षण गराएसँगै अब प्रदेश सरकार र सम्बन्धित आयोजना कार्यालयले कस्तो कदम चाल्छन् भन्ने चासो बढेको छ ।