विवाहपञ्चमी सम्पन्न, जन्तीलार्इ बिदाइ गरिँदै
वि.सं.२०७५ मंसिर २७ बिहीवार १८:५०
shares

धुमधामका साथ रामजानकी विवाह सम्पन्न भएको छ । विवाहपञ्चमी सम्पन्न भएसँगै भारत अयोध्याबाट आएका हजारौं विशिष्ट जन्तीलार्इ बिदाइ गरिएको छ भने करिब १० लाखभन्दा बढी स्थानीय तथा बाह्य श्रद्धालु भक्तजन जनकपुरबाट बाहिरिन थालेका छन् ।
विशिष्ट अतिथिका साथ पाहुनाका रुपमा सरिक भएका साधुसन्तलार्इ पनि बिदाइ क्रम जारी छ । रातिदेखि नै श्रद्धालु भक्तजन घर फर्किरहेका छन् ।
एकैपटक लाखौं यात्रु बाहिरिन लाग्दा सार्वजनिक सवारी साधनको अभाव भएको छ । सावर्जनिक सवारी साधन नपाएर कतिपय यात्रु समस्यामा परेका छन् । जनकपुर बस व्यवसायी संघले जनकपुरबाट जलेश्वर, जटही, वीरगन्ज, राजविराजलगायतका गाउँसम्म चल्ने बसबाट निरन्तर सेवा मिलाए पनि यात्रु धेरै भएकाले समस्या भएको हो । खचाखच भरिएका बसमा यात्रुहरू कोचिएर जान बाध्य भएका छन् ।
विवाहपञ्चमी महोत्सवमा सहभागी हुन ठूलो संख्यामा मानिस आएकाले बसमा ठाउँ नभए उभ्याएर भए पनि गन्तव्यतर्फ पठाउन सहयोग गर्दै आएको ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख दिपक साहले बताए । जनकपुर आएका भक्तजन अझै पनि धर्मशाला, होटल, सावर्जनिक स्थल र शिविरमै छन् ।

























