गृहपृष्ठ कांग्रेसको महासमिति बैठक सुरु

कांग्रेसको महासमिति बैठक सुरु

कांग्रेसको महासमिति बैठक सुरु

नेपाली कांग्रेस महासमिति भेला काठमाडौंमा सुरु भएको छ । महाधिवेशन हुने वर्षलाई छाडेर प्रत्येक वर्ष गर्नुपर्ने व्यवस्था भए पनि ६ वर्षपछि काठमाडौंमा महासमिति भेला भएको हो । पार्टी मुख्यालय सानेपामा सहभागीले रजिस्ट्रेसन गराउन थालेका छन् ।

बग्गीखानास्थित यलम्बर पार्टी प्यालेसमा शनिबार महासमिति भेलाको औपचारिक उद्घघाटन हुँदैछ । सवा दुई घण्टाको उद्घाटनसत्रपछि शनिबार दिउँसो बन्दसत्र सुरु हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । भेलामा विभिन्न पाँच प्रतिवेदन पेस हुनेछ ।

उपसभापति विमलेन्द्र निधिले राजनीतिक प्रतिवेदन, महामन्त्री शशांक कोइरालाले संगठनसम्बन्धी, अर्का महामन्त्री तथा विधान मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्काले पार्टीको नयाँ विधान मस्यौदा प्रतिवेदन, सहमहामन्त्री प्रकाशशरण महतले पार्टीको आर्थिक नीति र कोषाध्यक्ष सीतादेवी यादवले कोष तथा लेखासम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नेछन् । सबै प्रतिवेदन शनिबारकै सत्रमा पेस हुनेछ ।

 

केन्द्रीय समितिमा सहमति नजुटेको विषय महासमितिमा

भेलामा सहभागी सदस्यको प्रदेशस्तरीय समूह बनाएर छलफल गराइने छ । प्रदेशस्तरीय समूहमा सहभागीको समिति बनेपछि पुस १ देखि प्रतिवेदनमाथि छलफल हुनेछ । मंसिर ९ देखि जारी कांग्रेस केन्द्रीय समिति बैठकले भेलामा पेस गरिने पाँच प्रतिवेदन पारित गर्दै लैजानुपर्ने हो ।

तर केन्द्रीय समितिले पारित गर्न नसकेपछि असहमतिका बुदामा महासमिति बैठकमै छलफल गरिनेछ । विधान मस्यौदा पेस भएपछि मंसिर १३ देखि  केन्द्रीय समिति बैठकमा निरन्तर छलफल गरेको थियो । सहमहामन्त्री डा. प्रकाशशरण महतको आर्थिक नीति मात्र पारित भएको छ । कोषाध्यक्ष यादवले पार्टीको कोष तथा लेखासम्बन्धी प्रतिवेदन पेस गरेकी छन् । यसअघि बैठकमा उपसभापति निधि, महामन्त्रीद्वय कोइराला र खड्काले समेत आआफ्ना प्रतिवेदन पेस गरिसकेका छन् ।

भेला सुरु हुनै लाग्दासमेत केन्द्रीय समितिले प्रतिवेदन पारित गर्न सकेको छैन । पारित नभएका विषयमा महासमितिकै छलफल गरिनेछ । विधान मस्यौदामा पार्टीका शीर्ष नेताबीच असहमति देखिएपछि केन्द्रीय समितिले पारित गर्न नसकेको महामन्त्री तथा विधान मस्यौदा समितिका संयोजक खड्काले बताए ।

महासमिति भेलाको दुई तिहाईले पार्टीको नयाँ विधान पारित गर्नुपर्ने भएकाले सभापति शेरबहादुर देउवा विधान मस्यौदामा सहमति गराउन अनौपचारिक प्रयास जारी राखेका छन् ।

 

१६ सय प्रतिनिधि सहभागी

महासमिति भेलामा १६ सय प्रतिनिधि सहभागी छन् । २ सय ४० वटा निर्वाचन क्षेत्र, केन्द्रीय समिति, भ्रातृसंगठन तथा शुभेच्छुक संघसंस्था तथा जनसम्पर्क समितिका तर्फबाट आउने प्रतिनिधिको संख्या १ हजार ६ सयभन्दा बढी छ ।

राष्ट्रियसभा एवं प्रतिनिधिसभाका २६ सांसद र २९ जिल्ला सभापति पर्यवेक्षकका रूपमा सहभागी हुनेछन् ।

 

एक करोड खर्च

महासमिति भेलामा एक करोड हाराहारीमा रकम खर्च हुने आँकलन गरिएको छ । २०४६ यता कांग्रेसको ६ पटक महासमिति बैठक बसेको छ । २०४८ सालमा तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईका पालामा दुई पटक र गिरिजाप्रसाद कोइराला पार्टी सभापति भएपछि तीन पटक महासमिति बसेको थियो । सुशील कोइराला सभापति हुँदा २०६९ चैतमा महासमिति बसेको थियो । त्यसयता महासमिति बैठक बस्न सकेको छैन ।

 

महासमिति कार्यतालिका

  • बैठक शुक्रबार दिउँसो ३ बाट नामावली दर्ता
  • उद्घाटन समारोह शनिबार बिहान ११ बजे
  • बन्द सत्र शनिबार ३ बजे
  • बन्द सत्र पुस १, २ र ३ गतेसम्म

प्रकाशित समय : ००:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु