भीम रावलको पनि लिखित दस्तावेज, ओलीप्रति चर्को असन्तुष्टि
वि.सं.२०७५ पुस ३ मंगलवार २३:५७
shares

प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकमा नेता भीम रावलले पनि छुट्टै लिखित दस्तावेज पेश गरेका छन् । राजधानीमा केही दिनयता जारी बैठकमा रावलले लिखित धारणा राख्दै तीव्र आक्रोश पोखेका छन् ।
केही साताअघि राजधानीमा आयोजना गरिएको एसिया प्यासिफिक सम्मेलनमा सरकार सहआयोजक बनेकोमा रावलको मुख्य असन्तुष्टि जनाएका छन् । ‘धर्म परिवर्तन गराउनका लागि गतिविधि गर्दै आएको विवादास्पद् संस्थाको कार्यक्रम नेपालमा गर्न दिएको र त्यसमा सरकार सहआयोजक बनेको’ भन्दै रावलको प्रधानमन्त्रीको कडा विरोध गरेको नेताहरुले बताए ।
१४ पृष्ठ लामो लिखित धारणा पेश गर्दै रावलले भनेका छन्, ‘सरकारका काम कारवाही प्रभावकारी छैनन्, एकपछि अर्को आलोचना हुँदै आएको छ, तर कतिपय निर्णयहरु गर्दा पार्टीमा कुनै छलफल भएन ।’ रावलको दस्तावेजले अर्का प्रभावशाली नेता बामदेव गौतमलाई सहयोग मिले पनि उनले भने खुलेर समर्थन गरेका छैनन् ।
नेता रावलले आफ्नो विरोध एसिया प्यासिफिक सम्मेलनका सम्बन्धमा साथै, सरकार र पार्टी सञ्चालनको विषयमा केही असन्तुष्टि राखेको बताए । उनले न्यूज कारोबारसँग भने, ‘मैले पेश गरेको लिखित दस्तावेजमा पार्टीको विधानका सम्बन्धमा उठेका विषयदेखि चुनावी घोषणापत्र, कार्यदलको प्रतिवेदन, त्यसको कार्यान्वयन लगायतका विषय समावेश छन् ।’
मंगलबारको बैठकमा रावल, शंकर पोख्रेल, केशव बडाल, पृथ्वीसुब्बा गुरुङ, सत्यनारायण मण्डल, टोपबहादुर रायमाझी, योगेश भट्टराई र सोमनाथ अधिकारीले धारणा राखे । सबैजसो नेताहरुले यसअघि जस्तै सरकार सञ्चालनका विषयमा असन्तुष्टि राखेका थिए । अर्को बैठक बुधबार बिहान ८ बजेबाट शुरू हुने प्रबक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । नेकपा स्थायी समिति बैठक मंसिर २९ गतेदेखि सुरू भएको हो ।

























