संघीयतामा समाहित हुँदै कांग्रेस संरचना
वि.सं.२०७५ पुस ७ शनिवार १७:०८
shares

लामो रस्साकस्सीपछि पारित भएको विधानको मस्यौदा नेपाली कांग्रेसको महासमिति बैठकमा पेस हुँदैछ । शुक्रबार बसेको केन्द्रीय समिति बैठकले पारित गरेको विधान मस्यौदा शनिबार बस्ने महासमिति बैठकमा पेस हुने सो पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले बताए । लामो बहस र छलफलपछि शुक्रबार साँझ केन्द्रीय कार्यसमितिबाट मस्यौदा पारित भएको थियो ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकले संघीय संरचनाअनुसार तयार गरिएको पार्टीको विधान मस्यौदा पारित गरेको हो । पारित मस्यौदा केन्द्रीय कार्यसमितिको तर्फबाट शनिबार सानेपामा बस्ने महासमिति बैठकमा महामन्त्री एवं समितिका संयोजक पूर्णबहादुर खड्काले पेस गर्नेछन् । कांग्रेसले संविधानको संघीय व्यवस्थाअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो ।
बैठकले एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र एक कोषाध्यक्ष पदाधिकारीसहितको केन्द्रीय कार्यसमिति रहने मस्यौदा पारित गरेको हो । कोषाध्यक्षबाहेक सबै पदाधिकारी निर्वाचित हुनेछन् । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यबाट सभापतिले मनोनीत गर्ने निर्णय भएको छ ।
यस्तै आठ सहमहामन्त्रीमा संविधानले व्यवस्था गरेका समावेशिताका सबै क्लष्टर समावेश गरिनेछन् । केन्द्रीय कार्यसमिति सख्या १६१ वा १६७ बनाउने विषयमा छलफल भइरहेको छ । कांग्रेसको महासमिति बैठक गएको मङ्सिर २९ गतेदेखि जारी छ । पुस ३ गते समापन गर्ने भनिए पनि विधान मस्यौदामा सहमति जुट्न नसक्दा महासमिति बैठक लम्बिएको हो ।

























