Nepalese Flag २०७८ साउन १६ गते शनिबार   |   July 31, 2021

पसल-पसलमा भेटिन थाले क्यूआर कोड, मंसिरमा मात्रै सवा अर्बको कारोबार

न्युज कारोबार काठमाडौं माघ १४, २०७७       

पसल-पसलमा भेटिन थाले क्यूआर कोड, मंसिरमा मात्रै सवा अर्बको कारोबार
काठमाडौँको थापागाउँमा पिक्सेल मल्टिटेक इलेक्ट्रोनिक पसल सञ्चालन गर्दै आएका आयुष कार्कीले क्यूआर पेमेन्ट सिस्टम सुरु गरेको एक वर्ष बित्यो । कोरोनाभाइरस महामारी सुरु हुनुअघि नै क्यूआर कोड राखे पनि डिजिटल भुक्तानीका लागि ग्राहकको निकै सानो हिस्साले मात्र चासो देखायो । तर, कोभिड-१९ पछि क्यूआर पेमेन्ट बढेको छ । ‘कोभिड-१९ ले पेमेन्ट सिस्टममा मानिसको सोचाइ नै बदलिदिएको छ,’ उनी भन्छन्, ‘कोरोनाभाइरसको प्रभाव बढेसँगै संक्रमण फैलिने जोखिमबाट बच्न मानिसले डिजिटल भुक्तानी बढाएका छन् ।’ पैसाबाट संक्रमणको जोखिममात्रै नभएर पैसा गोजीमा बोकेर हिँड्नु पनि असुरक्षित छ भने बुझ्ने मानिसले हिजोआज नगदको प्रयोग कम गर्दै लगेको उनको बुझाइ छ । ‘सानोतिनो भुक्तानीका लागि दुई-चार सय गोजीमा बोकेर हिँड्नु सामान्य कुरा हो,’ कार्की भन्छन्, ‘तर एटीएम कार्ड, क्रेडिट कार्ड, क्यूआर कोड पेमेन्टका साथै डिजिटल पेमेन्टका लागि विभिन्न वालेटहरु हुँदाहुँदै ठूलो नगद बोक्नु राम्रो होइन ।’ ग्राहकले डिजिटल भुक्तानी गरिदिए व्यवसायीलाई पनि दैनिक बैँक पुग्नुपर्ने झन्झट नरहने उनले बताए । न्युरोडस्थित अक्सरा ज्वेलरीका सञ्चालक निकेश शाक्यले पनि क्यूआर कोड पेमेन्ट सिस्टम राखेको १० महिना भयो । कोभिड-१९ र मूल्यवृद्धिका कारण सुनका ग्राहक खासै छैनन् तर पनि क्यूआर कोडको प्रयोग भने बढ्दै गएको उनको अनुभव छ । पसलमा आउनेमध्ये २० प्रतिशत ग्राहकले फोन पे प्रयोग गर्ने गरेको उनले बताए । ‘कोभिड-१९ पछि प्रायः पसलले डिजिटल भुक्तानीका विकल्पहरु दिएका छन्,’ उनी भन्छन्, ‘ग्राहकले पनि फोन पे प्रयोग गर्न खोज्छन् ।’ ग्राहकलाई आफूहरुले शतप्रतिशत डिजिटल भुक्तानीका लागि प्रोत्साहन गर्ने गरेको उनले बताए । ‘अरु सिस्टमभन्दा फोन पे सजिलो र निःशुल्क पनि छ, एटीएममा चार्ज लाग्छ, यसमा लाग्दैन,’ उनी भन्छन्, ‘त्यही भएर ग्राहकले पनि फोन पे खोज्छन् ।’ विनायक स्टोर बालकोटका प्रोप्राइटर नवराज श्रेष्ठले पसलमा क्यूआर कोड राखेको सात महिना भयो । किराना पसल भएर होला, सानो पैसाको सामान किन्न आउने धेरै हुने भएकाले क्यूआर कोड पेमेन्टको विकल्प कमै प्रयोग हुने उनको अनुभव छ । ‘मेरो पसलमा ३‑४ प्रतिशत मानिसले क्यूआर कोड प्रयोग गर्न थालेका छन्,’ उनले भने, ‘कोभिड‑१९ का कारण प्रयोग गर्ने क्रम बढेको छ ।’ क्यूआर कोडको बारेमा ज्ञानको कमी, इन्टरनेटको शुल्कलगायतका कारणले पनि डिजिटल भुक्तानी बढ्न नसकेको श्रेष्ठ बताउँछन् । सरकारले डिजिटल भुक्तानी बढाउन नेपाल राष्ट्र बैँक, अन्य बैँक तथा वित्तीय संस्था, व्यवसायी, ग्राहक सबैले चासो दिने अवस्था सिर्जना गर्नुपर्ने उनले सुझाव दिए । न्युरोडका कपडा व्यवसायी सचिन हुन् या नयाँ बानेश्वरस्थित ब्याग पसलका सञ्चालक देवी चरण घिमिरे क्यूआर कोडबाट सामानको भुक्तानी गर्ने क्रम बढेको बताउँछन् । दुई वर्ष अघिसम्म क्यूआर कोडबाट भुक्तानी गर्न कसैले चासै नदिने गरे पनि हिजोआज ग्राहक स्वयंले सोधीखोजी गर्ने गरेको उनीहरुको अनुभव छ । उनीहरुका करिब २० प्रतिशत ग्राहक अहिले क्यूआर कोडबाट भुक्तानी गर्छन् । कसरी बढ्यो डिजिटल भुक्तानी ? सहजता र सुरक्षाका हिसाबले प्रविधिमा रुचि राख्ने र इन्टरनेटको पहुँचमा भएकाहरुले डिजिटल भुक्तानीको अभ्यास सुरु गरेको धेरै भइसकेको छ । इन्टरनेट सेवाको विस्तारसँगै ई‑कमर्स बढ्दै जाँदा डिजिटल पेमेन्ट बढ्दै गएको हो । डिजिटल पेमेन्टको विस्तारका लागि ईसेवा, आईएमई पे, खल्तीलगायतका पेमेन्ट गेटवेले पनि ठूलो भूमिका खेलेका छन् । क्यूआर कोड भुक्तानी यी सेवाभन्दा पनि सहज देखिएको छ । स्मार्ट फोनमा बैँकको एप डाउनलोड गर्नासाथ पुग्ने भएपछि क्यूआर कोड भुक्तानी अधिकांशको रोजाइमा परेको छ । अहिले ठूल्ठूला सपिङ मलमा मात्र होइन, सपिङ सेन्टरका पसल-पसलमा क्यूआर कोड भुक्तानीको सुविधा छ । साना चियापसलदेखि, किराना पसल, तरकारी बजार, कपडा पसल र पार्लरले ग्राहकलाई क्यूआर पेमेन्टको विकल्प दिएका छन् । यसको मूल कारण बन्यो‑ कारोनाभाइरस महामारी । विश्वभर फैलिएको कोरोनाभाइरस महामारीका कारण नेपालले गत वर्ष चैतदेखि नै  लकडाउन गर्‍यो । एकातिर पैसाबाट कोरोना सर्नसक्छ भन्ने आशंका र अर्कातिर बाहिर निस्किन नपाइने अवस्थाका बीच घरबाटै सामान अर्डर गर्ने र डिजिटल भुक्तानी गर्ने क्रम बढेर गयो । ई‑सेवा, आईएमई पे, खल्तीका साथै कनेक्ट आईपीएसबाट भुक्तानी गर्नु एकप्रकारको बाध्यता बन्यो । कतिपय भुक्तानी डिजिटल गर्नैपर्ने बाध्यकारी अवस्था पनि सिर्जना गरियो । सेयर ब्रोकरलाई पैसा तिर्न कनेक्ट आईपीएस अनिवार्य छ । इन्टरनेट सेवाप्रदायकदेखि, टेलिफोन, टेलिभिजन, बिजुली तथा खानेपानीको महसुल, बिमा कम्पनीको प्रिमियम, क्रेडिट कार्ड भुक्तानी, विभिन्न इभेन्ट, केबलकार, फिल्म तथा हवाईजहाजको टिकट काट्न पनि डिजिटल माध्यमको प्रयोग बढेको छ । राष्ट्र बैँकको पहल डिजिटल भुक्तानी बढ्दै गएका बेला व्यावसायिक पारदर्शिता र सुशासनका लागि भन्दै पुस १० गतेदेखि राष्ट्र बैँकले क्यूआर कोड भुक्तानी अभियानकै रुपमा अघि बढायो । गभर्नर महाप्रसाद अधिकारीले क्यूआर कोड भुक्तानीलाई देशव्यापी बनाउने भन्दै नक्सालको तरकारी बजारबाट अभियानको उद्घाटन नै गरे । सानिमा बैँक र नक्साल तरकारी तथा फलफूल व्यवस्थापन समितिको सहकार्यमा सुरु भएको क्यूआर कोड अभियान देशभर लैजान राष्ट्र बैँकको तयारी छ । अहिले विभिन्न बैँकहरुसँगको अग्रसरतामा सफा टेम्पुमा पनि क्यूआर कोडबाट भाडा तिर्न सकिने व्यवस्था सुरु भइसकेको छ । क्यूआर कोड भुक्तानीका लागि अभियान सञ्चालन गर्नअघिको सामान्य सर्भेका क्रममा यसको प्रयोग उच्च भएको पाएपछि राष्ट्र बैँक उत्साहित देखिएको हो । अभियानको अवधारणा बनाउनुअघि कात्तिकमा मात्रै क्यूआर कोडमार्फत २ लाख ४१ हजार ८१८ कारोबार भएको थियो । ‘अभियान सुरु गरेपछि क्यूआरबाट हुने पेमेन्ट निकै बढेको जानकारी राष्ट्र बैँकलाई प्राप्त भइरहेको छ,’ सहप्रवक्ता नारायणप्रसाद पोखरेल भन्छन्, ‘हामीले अहिले अभियानलाई प्राथमिकता दिएका छौँ, यसको नतिजा नियमित रुपमा बुलेटिनमा सार्वजनिक गर्दै जान्छौँ ।’ चालू आर्थिक वर्षको पुससम्ममा देशभर १ लाख ९१ हजार २९२ क्यूआर कोड राखिएका छन् । मंसिरमा मात्रै क्यूआर कोडमार्फत ३ लाख ४३ हजार ५७४ वटा कारोबार भएको राष्ट्र बैँकले जनाएको छ । मंसिरमा क्यूआरबाट १ अर्ब २५ करोड ६० लाख रुपैयाँबराबरको कारोबार भएको सहप्रवक्ता पोखरेलले जानकारी दिए । कात्तिकको तुलनामा मंसिरमा क्यूआर कोडबाट हुने कारोबारको संख्या एक लाखभन्दा धेरैले बढेको छ । राष्ट्र बैँकका अनुसार क्यूआर कोडबाट कात्तिकमा २ लाख ४१ हजार ८१८ वटा कारोबार भएको थियो । समग्र डिजिटल माध्यमबाट हुने कारोबारमा निकै वृद्धि हुँदै गएको छ । चालू आर्थिक वर्षको साउनमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ५८ प्रतिशत डिजिटल्ली कारोबार भएकोमा मंसिरमा ६३ प्रतिशत पुगेको सहप्रवक्ता पोखरेलले बताए । के हो क्यूआर कोड ? क्यूआर कोड जापानको अटोमोबाइल मार्केटिङको रुपमा पहिलोपटक प्रयोगमा ल्याएको प्रविधि हो । यसको पूरा रुप क्विक रेस्पोन्स (क्यूआर) कोड हो । अहिले यो प्रविधि अमेरिका, भारत, चीनलगायत युरोपका विभिन्न देशमा प्रयोगमा छ । डिजिटल पेमेन्टका लागि क्यूआरको प्रयोग संसारभर बढ्दै गएको छ । सेतो र कालो पिक्स प्याटर्नको सानो क्रसवर्ड पजल देखिने क्यूआर कोडमा ब्रान्ड तथा कम्पनीको कोड हुन्छ, जसलाई तत्काल स्क्यान गरेर ठूलो डेटा क्षमता भएको प्रविधिले सजिलै पहिचान गर्नसक्छ । क्यूआर कोड भुक्तानीका लागि मोबाइलमा बैँकिङ एप या डिजिटल गेटवका विभिन्न एप आवश्यक पर्छ । मोबाइलमा थर्डपार्टी क्यूआर कोड रिडर एप्लिकेसन इन्सटल पनि गर्न सकिन्छ । गुगलले पनि यूआरएललाई सजिलै क्यूआर कोडमा परिवर्तन गर्न क्यूआर कोड जेनेरेटर प्रदान गरेको छ । भर्खरै एप्पल कम्पनीले पनि आईफोनमा इनब्युल्ट क्यूआर कोड स्क्यानर प्रयोगमा ल्याएको छ । यसबाट प्रयोगकर्ताहरुले सजिलै क्यामेरा एप खोलेर कोडमा फोकस गरी प्रोडक्टसम्बन्धी जानकारी लिन सक्छन् । क्यूआर कोडबाट भुक्तानी गर्दा सम्भावित जोखिमबाट सुरक्षित हुनेमात्र नभई समयको बचत पनि हुन्छ ।

सम्बन्धित खबरहरु