थकाली समाज फुटसल प्रतियोगिताको उपाधि पोखरालाई
वि.सं.२०७५ असोज २७ शनिवार ०२:१३
shares

थासाङ युवा परिवारको आयोजनामा शुक्रबार पोखरामा सम्पन्न अन्तरक्षेत्रीय थकाली समाज फुटसल प्रतियोगिता २०७५ को उपाधि थकाली सेवा समिति पोखराले जितेको छ । पोखरामा शुक्रबार भएको फाइनल खेलमा पोखराले थाक सात सय क्षेत्र मुस्ताङको घाँसालाई ६–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
विजेताले उपाधिसहित ५० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता थाक सात सय क्षेत्र मुस्ताङले ३० हजार पुरस्कार प्राप्त गर्यो । प्रतियोगितामा काठमाडौंको थकाली सेवा समिति अनुशासित टिम घोषित भयो । प्रतियोगितामा थाक सात सय क्षेत्रका विमर्श शेरचन उत्कृष्ट खेलाडी घोषित भए भने थकाली सेवा समिति पोखराका किसव शेरचनले ५ गोल गरी सर्वाधिक गोलकर्ताको उपाधि जिते ।
विजयी खेलाडीको टोलीलाई थकाली सेवा समिति कास्कीका अध्यक्ष शिवशंकर गौचन, पोखरा थाकसाङ युवा परिवारका अध्यक्ष लक्ष्मण गौचन, निवर्तमान अध्यक्ष योगेन्द्र शेरचन, खासाङ स्पोटर्स क्लब काठमाडौंका अध्यक्ष कृष्ण शेरचनलगायतले पुरस्कार प्रदान गरे ।
यसअघि, थकाली सेवा समिति पोखराले काठमाडौंको थकाली सेवा समितिलाई टाइब्रेकरमा ४–३ को गोलअन्तरले पराजित गर्दै फाइनलका यात्रा तय गर्दा घाँसाले पोखरा थाकसाङ युवा परिवारलाई ३–१ को गोलअन्तरले पराजित गरेको हो । पोखरा दिपका सिकन्दर गौचनको मुख्य प्रायोजन र थकाली सेवा समाजको सह–प्रयोजनामा उक्त प्रतियोगिता पोखराको अधिकारी टोलमा रहेको ट्युटिसल फुटसल एरिनामा पहिलोपटक भएको हो । देशभर १९ थकाली समाज भए पनि प्रतियोगितामा सातवटा समाजले मात्र सहभागिता जनाएका थिए ।

























