पोखरामा नयाँ नोट साट्नेको भीड
वि.सं.२०७५ असोज २७ शनिवार ०२:१९
shares

दसैं पर्वको अवसरमा नयाँ नोट साट्नेको पोखरामा भीड बढेको छ । असोज २१ गतेदेखि नेपाल राष्ट्र बैंकले नयाँ नोट साट्ने सुविधा दिएपछि नयाँ नोट साट्ने उपभोक्ताको भीड बढेको हो ।
दसैं पर्व नजिकिँदै जाँदा दैनिकजसो नयाँ नोट लिनेको संख्या बढ्दै गएको नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशक पोमनाथ गौतमले जानकारी दिए । उनका अनुसार नयाँ नोट साट्न हाल दैनिक ५–६ सयजना राष्ट्र बैंक पुग्ने गरेका छन् ।
नेपाल राष्ट्र बैंक पोखरा कार्यालयले बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म नयाँ नोट साँट्ने भएपछि पोखरा र पोखराआसपासका उपभोक्ता बिहानैदेखि बैंकपरिसर पुग्ने गरेका छन् । राष्ट्र बैंकले हाल दुईवटा काउन्टरबाट नयाँ नोट साट्ने व्यवस्था गरेको छ ।
अधिकांश उपभोक्ताले यो वर्ष भने २० र १०० रुपैयाँका नोट बढी साँटेका छन् । यो वर्ष नेपाल राष्ट्र बैंकले गत वर्षको भन्दा धेरै रकम दिने व्यवस्था मिलाएको छ केन्द्रीय बैंकले यो वर्ष २७ हजारसम्म अर्थात एक सयको एक बन्डलबाहेक ५, १०, २०, ५० का दुइ÷दुई बन्डल दिने गरेको जनाएको छ । गत वर्ष ८ हजार ५ सय अर्थात् ५, १०, २०, ५० र १ सयको एक÷एक बन्डल दिने गरेको थियो ।
हालसम्म राष्ट्र बैंैक पोखरा शाखाबाटै लाइनमा बसेका उपभोक्तालाई २० करोड रुपैयाँभन्दा बढी नयाँ नोट साटेको निर्देशक गौतमले बताए । उनका अनुसार बैंक तथा वित्तीय संस्थालाई हालसम्म २ अर्ब १३ करोड र नोट कोषमा रहेका वाणिज्य बैंकका शाखालाई १ अर्ब ६५ करोड रुपैयाँ नयाँ नोट साटिएको छ । हालसम्म पोखरा क्षेत्रबाट गण्डकी प्रदेशलाई लक्षित गरी करिब ४ अर्ब नयाँ नोट साटिएको राष्ट्र बैंकले जनाएको छ । गण्डकी प्रदेशमा करिब एक हजारभन्दा बढी बैंक तथा वित्तीय संस्था छन् ।

























