काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सडक निर्माणमा आरोप-प्रत्यारोप : यात्रुलाई सास्ती

17.01K
shares

सुर्खेतको सदरमुकाममा चार लेनको करिब ९ किलोमिटर रत्न राजमार्ग निर्माणको क्रममा छ । सडक निर्माणको ठेक्का आशिष, श्याम एन्ड शंकर कन्ट्रक्सनले पाएको छ ।

जम्मा ९ किलोमिटर दुरीको उक्त सडक तीनवटा प्याकेजमा निर्माण कार्य अगाडि बढाईएको छ । तीनमध्ये वीरेन्द्रनगर ११ धुलीयाबिटदेखि वीरेन्द्रनगर १२ सञ्चयकोषसम्मको एउटा प्याकेज समयमै निर्माण सम्पन्न भइसकेको छ ।

करिब ३ किलोमिटरको काम समयमै सम्पन्न भए पनि दोस्रो प्याकेज भनिएको बजार क्षेत्र सञ्चयकोषदेखि सिद्धार्थ होटलसम्मको सडक निर्माणको काम भने अधुरै छ । सडक निर्माणको काम समयमै सम्पन्न नहुँदा यात्रु तथा स्थानीयले सास्ति व्यहोर्नु परेको छ ।

सडकका खाल्डा–खुल्डी, जथाभावी थुपारिएको बालुवा तथा गीटी र कहिले हिलो र कहिलो धुलोका कारण यात्रुहरु मारमा परेका छन् ।

करिब ३ किलोमिटरको कामको लागि श्याम एण्ड शंकर कन्ट्रक्सनले १४ करोड ४० लाख ४१ हजार ५ सय ९१ रुपैयाँको सम्झौता गरेको सडक डिभिजन कार्यालय सुर्खेतका सूचना अधिकारी दीपेन्द्र विष्टले बताएका छन् ।

निर्माण कम्पनीले २०७३ असार २७ गते २०७५ असार २० गते काम सक्ने सम्झौता गरे पनि विविध कारणवश काम समयमै हुन नसकेको विष्टको भनाई छ ।

उनले भने, ‘ठेकेदार कम्पनीले करिब ९० प्रतिशत काम सकेको छ । काम गर्ने क्रममा विभिन्न समस्या आएका छन् । त्यसैले ठेकेदार कम्पनीले काम समयमै पूरा गर्न नसकेको हो ।’

उता ठेकेदार कम्पनी श्याम एण्ड शंकर कन्ट्रक्सनका ठेकेदार कलमकुमार केसीले भने सडक छेउका विद्युतका पोल तथा खानेपानीका पाइपहरुका कारण समयमै काम पूरा गर्न नसकेको बताए ।

उनी भन्छन्, ‘सडक निर्माणमा सबैभन्दा अप्ठ्यारो बजार क्षेत्र (दोस्रो प्याकेज ) मा भयो । सडक छेउछाउमा रहेको विद्युत्, टेलीफोनका तार तथा खानेपानीका पाइप लाइनका कारण काम समएमै गर्न सकेको छैन ।’ सुर्खेत बसपार्क वरपरको क्षेत्रमा भने स्थानीयले ढल निकाशको दीर्घकालीन समस्या समाधान नगरेसम्म काम अगाडि बढाउन नदिएको केसीले बताए ।

‘समयमै काम सक्ने कुरामा ठेकेदार कम्पनी सकारात्मक छ,’ उनले भने, ‘ढल निकाशमा नगरपालिका संयम छैन र विद्युतका तार र खानेपानीका पाइपलाई लाइनिङ्ग गर्ने कुरामा सम्बन्धित निकायले ध्यान नदिएको कारण काम अधुरो रहेको हो ।’

विद्युतका पोल तथा पाइपलाईनहरु हटाउने र बसपार्क वरपरका जनताको ढल समस्यालाई नगरले समाधान गरेको भोलीपल्टबाटै आफूहरुले काम शुरु गर्ने केसीको भनाई छ ।

उता विद्युत् प्राधिकरण सुर्खेतका इन्जिनियर मनोज अर्यालको भने फरक भनाई छ । उनी भन्छन्, ‘यसमा हाम्रो कुनै कमजोरी छैन । सडक डिभिजनले पहिला ठेकेदार कम्पनीलाई टेन्डर आह्वान गरी सडक निर्माणको काम शुरु भएपछि मात्रै विद्युतका पोलले असर गरेको भनी पछि मात्रै हामीहरुलाई काम दिइएको हो । हामीलाई समयमै बजेट समेत दिइएको छैन ।’

बजेट समयमै नदिनु र पुग्ने गरी नदिनुले पनि सडक छेउका पोलहरु समयमै हटाउन नसकिएको अर्यालको भनाई रहेको छ । ‘सडक निर्माणकार्य शुरु गर्नु अगाडि नै सर्भे गर्दा विद्युत्का पोलहरु छन् भन्ने सडक डिभिजन कार्यालयलाई थाह हुनुपथ्र्यो,’ उनले भने, ‘यो हुन सकेन अहिले विद्युतलाई दोष लगाइएको छ ।’

समयमै बजेट उपलब्ध गराउने र त्यो पनि पुग्ने गरी दिने काम सडक डिभिजनले गरेको सडकका पोलहरु समयमै हटाउने कुरामा विद्युत् प्राधिकरण समारात्मक भएको अर्यालले बताए ।

यस विषयमा वीरेन्द्रनगर ६ का वडा अध्यक्ष मोतीप्रसाद कँडेलले स्थायी ढलनिकाशको लागि वीरेन्द्रनगर नगरपालिकाले पनि सोचेको बताए । तर अहिलेनै नगरमा पैसाको अभावले काम गर्न नसकिने उनको तर्क छ ।

‘वीरेन्द्रनगर ६ को पानी वडा नं १० र ९ मा जान्छ भनेरै जनताहरुले विरोध गरेका हुन् । त्यो उहाँहरुको मुर्खता हो,’ उनले भने, ‘कृषियोग्य जमीनमा जथाभावी प्लटिङ्ग गर्दै घर बनाउने र पछि खोलो नै फर्काइदिन आग्रह गर्नु गलत हो ।’

बिस वर्ष अघिदेखिको समस्या एकैपटकमा समाधान हुन नसक्ने समेत उनको भनाई छ । ‘वडा नं ६ को स्थायि ढल निकाशको लागि आफूहरुले डिपिआर तयार गरेको र करिब ४० करोड जती लाग्ने भएकोले सहयोग दाताको खोजीमा लागीरहेका छौं,’ उनले भने ।

समयमै सडक निर्माण नहुँदा दुर्घटनाको मात्रासमेत बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब निरीक्षक कविराम सेन्चुरी भन्छन्, ‘बजार क्षेत्रमा मोटरसाईकल तथा साना सवारी साधनहरु दुर्घटना हुनु अव्यवस्थित सवारी साधन पनि हो । सडक निर्माणमा ढिलाई भएका कारण पनि वीरेन्द्रनगर बजार क्षेत्रमा दिनहुँ दुर्घटना भइरहेको हुन्छन् ।’

‘सरोकारवाला निकायहरुले एकअर्कालाई आरोप प्रत्यारोप लगाउनु भन्दा पनी कसरी सडक निर्माणलाई छिटो गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिन जरुरी छ,’ सेन्चुरीले भने ।

कर्णाली प्रदेशको राजधानीमा वर्षाको समयमा खपीनसक्नुको हिलोका कारण हैरान भएका सुर्खेत बासीलाई वर्षापछि भने निर्माणाधिन रत्नराजमार्गको धुलोले निकै सास्ती भएको छ । धुलोका कारण स्थानीय हैरान छन् भने यात्रुलाई समेत निकै कष्ट भएको छ । कहिले हिलो र कहिले धुलो झेल्नु सुर्खेतका स्थानीयको दिनचर्या नै बनेको छ । उनीहरुको एउटै प्रश्न छ यसबाट कहिले मुक्ति पाइएला ?