जिम्मेवारी बाँडफाँडमा मनोमानी गरेको भन्दै नेकपामा किचलो
वि.सं.२०७५ कात्तिक २५ आइतवार २३:४४
shares

पार्टी एकीकरण भएको ६ महिना बितिसक्दा पनि सांगठनिक एकता प्रक्रिया टुंगो लाग्न नसकेको नेपाल कम्युनिस्ट पार्टी नेकपामा प्रतिवेदनका विषयमा अर्को किचलो सुरु भएको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूअनुकूलका नेताहरुलाई मात्र जिम्मेवारी दिने गरी प्रतिवेदन बनाएको भन्दै किचलो बढेको छ । नेता माधवकुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिवेदनप्रति आपत्ति जनाएका छन् ।
नेकपामा ४४१ केन्द्रीय समिति, प्रदेशको इन्चार्ज, सह–इन्चार्ज, अध्यक्ष र सचिवको मात्र टुंगो गलाइएको छ । त्यसबाहेक तल्ला तहका कमिटी र अरु जनसंगठनको एकता प्रक्रिया अगाडि बढ्न सकेको छैन । तत्कालीन एमाले र नेकपा माओवादी दुबै पार्टीका सांगठनिक एकता प्रक्रिया एकसाथ टुंगो लगाउने गरी प्रदेशस्तरीय कार्यदल गठन भएको छ ।
केन्द्रमा महासचिव विष्णुप्रसाद पौडेल र गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा ‘बादल’ सदस्य रहेको अर्काे कार्यदल गठन गरिएको छ । प्रदेशस्तरीय कार्यदलले महासचिव पौडेल र थापा सदस्य रहेको केन्द्रीय कार्यदलमा बुझाएको प्रतिवेदनमा अध्यक्षद्वय ओली र प्रचण्डले आफ्ना गुटकालाई मात्र समावेश गरेको भन्दै नेता नेपाल र श्रेष्ठले असन्तुष्टि जनाएका हुन् ।
‘अध्यक्षद्वय ओली र प्रचण्डले एकताको भावनाविपरीत एकलौटी रुपमा सांगठनिक एकता प्रक्रिया टुंगो लगाउन खोजेपछि असन्तुष्टि आएका छन्,’ नेकपाका नेताहरु भन्छन्, ‘सोही विवादका कारण एकतालाई तीव्रता दिन सकिएको छैन ।’
प्रदेशको सांगठनिक एकता र केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्न पौडेल र थापा सदस्य रहेको कार्यदललाई एक साताको म्याद दिइए पनि विवादकै कारण अझै प्रतिवेदन नबुझाएको नेताहरु बताउँछन् । एकता प्रक्रिया टुंगो लगाउन सचिवालयको बैठक पटक–पटक बसे पनि आन्तरिक समस्या समाधान गर्न नै अध्यक्षद्वयलाई बढी समय लागेको स्थायी समिति सदस्य युवराज ज्ञवाली बताउँछन् । ‘पार्टी एकता भएको ६ महिना बित्यो तर अहिलेसम्म कुनै जिम्मेवारी पाएका छैनौं, स्थायी समितिको बैठकसमेत बस्न सकेको छैन, सचिवालय बैठक पनि बस्न सकेको छैन, अध्यक्ष तहमा कुरा नमिलेकै कारण बैठक प्रभावित भएको जस्तो कुरा सुनिन्छ,’ ज्ञवालीले न्युज कारोबारसँग भने ।
अध्यक्षद्वय ओली र प्रचण्डले अरु पक्षलाई पेलेर अगाडि बढ्न खोजेको भन्दै नेताद्वय नेपाल र श्रेष्ठले सचिवालयको बैठकमा दबाब सिर्जना गरिहरेका छन् । नेपाल, श्रेष्ठलगायतका नेतातर्फ संकेत गर्दै ज्ञवालीले जिम्मेवारीविहीन रुपमा बस्नुपर्दा र पार्टीका संगठनहरु चलायमान हुन नसक्दा केही नेताहरुले अध्यक्षद्वयलाई झक्झक्याइरहेको बताए । उनले भने, ‘सांगठनिक एकता, कार्य विभाजनलगायतका केन्द्रीय सचिवालयले तयार पारेको प्रतिवेदन मिलाउँदै तत्काल टुंगो लगाउन केही नेताहरुले अध्यक्षद्वयलाई दबाब दिँदै आएका छन्, आशा गरौं एकता प्रक्रिया तत्काल टुंगिन्छ ।’

























