प्रहरी बन्न चाहन्छन् युवाहरु
वि.सं.२०७५ मंसिर १ शनिवार १७:५९
shares

भेरीगंगा नगरपालिका १३ सुर्खेतकी १९ वर्षीय सुशीला डाँगी कक्षा १२ मा पढ्दै छिन् । तर बेरोजगार भएकै कारण सुशीला प्रहरी जवानमा आवेदन दिन जिल्ला प्रहरी कार्यालय सुर्खेतमा आएकी छन् ।
‘पढ्दै छु तर बेरोजगारी व्याप्त छ । यस्तो अवस्थामा पढेर मात्रै के गर्नु ?’ उनले प्रश्न गर्दै भनिन्, ‘प्रहरीमै जागीर खान सकियो भने पनि राम्रै हुन्छ भनेर म आवेदन दिन आएकी हुँ ।’ जागीर खाँदै पढाइलाई अगाडि बढाउने उनको सपना छ ।
छेडागाड नगरपालिका ५ जाजरकोटका रत्नबहादुर बुढा नारायणी माध्यामिक विद्यालय जाजरकोटमा उच्च माद्यमिक तहमा अध्ययन गर्दैछन् । उनी पनी नेपाल प्रहरीमा भर्ना हुने तयारी गरिरहेका छन् । ‘राज्यले जती पढे पनि रोजगारीको ग्यारेण्टी गर्न सक्दैन,’ उनले भने, ‘प्रहरीमा भर्ना भएर पढाईलाई पनि अघि बढाउने सोचमा छु ।’ बुढाका अनुसार उनी पढ्ने रहर हुँदा हुँदै पनि नेपाल प्रहरीमा भर्ना हुन आएका हुन् ।

रत्न र सुशीला मात्रै होइन जिल्ला प्रहरी कार्यालय सुर्खेतमा प्रहरी जवानका लागि २६ सय ४९ तथा कार्यालय सहयोगीको लागी १ सय ६८ ले आवेदन दिएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार देशभरमा प्रहरी जवानका लागि ६ हजार २ सय ४४ प्रहरी जवानको माग भए पनि सुर्खेतबाट मात्रै २६ सय ४९ ले आवेदन दिएका छन् ।
देशभरका ७७ जिल्लाबाट आवेदन दिन पाइने भएकाले कार्यालयमा भीडभाडसमेत कम हुने गरको कार्यालयको भनाई छ । प्रहरीमा आवेदन दिने मिति भने कात्र्तिक २९ गते नै सकिएको छ ।

























