सामाजिक सुरक्षा कार्यक्रम लागु गर्ने तयारी
वि.सं.२०७५ मंसिर ५ बुधवार ००:०९
shares

सरकारले आर्थिक तथा सामाजिक रुपमा जोखिममा रहेका नागरिकको सुरक्षाका लागि सामाजिक सुरक्षा कार्यक्रम लागु गर्ने तयारी गरेको छ । मंसिर ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले ‘योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम’ घोषणा गर्ने कार्यक्रम छ ।
कार्यक्रम घोषणा भएपछि देशभित्र कार्यरत श्रमिकले अब सरकारले तोकेका १३ हजार ४ सय ५० रुपैयाँ न्युनतम पारिश्रमिक र सामाजिक सुरक्षा कार्यक्रमसहित १७ हजार पाउनेछन् । यसको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक ऐन, नियमावली, कार्यविधि पारित भइसकेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले जानकारी दिए ।
सामाजिक न्यायको अभिन्न अङ्गका रुपमा रहेको उक्त कार्यक्रमले व्यक्तिगत जीवनका धेरै क्षेत्रमा हुने जोखिमलाई न्यूनीकरण गर्न विशेष सहुलियत र सहायताको सुनिश्चितता हुने मन्त्री विष्टले बताए । उनले भने ‘निजी क्षेत्रमा कार्यरत श्रमिकले निवृत्तिभरण पाउने व्यवस्था भएपछि विदेशमा पनि सोही प्रकारका सुविधा प्राप्त गर्न अत्यन्त जोखिमपूर्ण काममा लाग्नुपर्ने अवस्थामा न्यूनीकरण हुनेछ ।
दशौँ वर्ष विदेशमा काम गर्ने श्रमिकले नेपाल फर्केपछि कुनै पनि सामाजिक सुरक्षा हुने अवस्था थिएन तर नेपालमा यो कार्यक्रम लागु भएपछि वैदेशिक रोजगारीको क्षेत्रमा समेत सकारात्मक प्रभाव पर्नेछ ।’ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उक्त कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि रोजगारदातालाई समयसिमा तोकेरै सामाजिक सुरक्षा कोषमा सूचीकृत हुन आग्रह गरेकोे छ । काठमाडौँ उपत्यकाभित्रका रोजगारदाता र श्रमिक आपूर्तिकर्ता कम्पनीलाई यही मंसिर ६ गतेभित्र कोषमा सूचीकृत हुन आग्रह गरेको हो ।

























