चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन बहुमतले पारित
वि.सं.२०७५ पुस २५ बुधवार २०:५५
shares

संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन बहुमतले पारित गरेको छ । बुधबार सिंहदरबारमा बसेको समिति बैठकले प्रतिवेदन पारित गरेको हो । यसअघि समितिले विवादित विषयमा छलफल गरेर सुझाव दिन गठन गरेको उपसमितिले उक्त प्रतिवेदन समितिमा पेश गरेको थियो । ‘उपसमितिले बुझाएको सुझाब प्रतिवेदन हुबहूु पारित भएको छ,’ समितिका सभापति जयपुरी घर्तीले भनिन् ।
२३ सदस्यीय समितिको बैठकमा जम्मा १८ जना उपस्थित थिए । तीमध्ये १४ जना सांसदको समर्थनमा उक्त प्रतिवेदन पारित गरिएको सभापति घर्तीले बताईन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका ४ सांसदले भने प्रतिवेदनमा फरक मत राखेका थिए । वरिष्ठ चिकित्सक गोविन्द केसीसँग सरकारले गरेको सहमतिविपरितका केही बुँदा हटाउन उनीहरुले माग गरे ।
सांसद गगन थापाले केसी र सरकारबीच भएको सहमतिभन्दा बाहिर जाँदा समस्या ब्युँतने खतरा औँल्याएका थिए । ‘केसीको माग पूरा नगरी प्रतिवेदन पारित हुनु थियो भने किन सरकारले केसीसँग सहमति गरेको ?’ उनले प्रश्न भने, ‘डा. केसीलाई सरकारले फेरि पनि धोका दियो ।’
सत्तारुढ दलका सांसदले भने वरिष्ठ चिकित्सक केसीसँग भएको सहमति अब कार्यान्वयन भएको दाबी गरे । ‘यो विधेयकले चिकित्सा क्षेत्रको सुधारमा उल्लेख्य योगदान पुर्याउने छ,’ नेकपाका सांसद योगेश भट्टराईले भने, ‘डा. केसीका माग सम्बोधन गरिएको छ ।’
प्रतिवेदनका कुन बुँदामा कांग्रेसको फरक मत ?
विधेयकको दफा १३ को उपदफा ६
ऐन जारी भएपछि एक विश्वविद्यालयले पाँच भन्दा बढि शिक्षण संस्थालाई सम्बन्धन दिन सक्ने छैन । तर यसअघि सम्बन्धन दिईसकेका र मनशाय पत्र लिई मापदण्ड पुरा गरेका काठमाडौं उपत्यका बाहिरका शिक्षण संस्थाका हकमा यो प्रावधान लागु हुने छैन । काठमाडौं बाहिरका शिक्षण संस्थाको हकमा आयोगले निर्णय गरेबमोजिम हुनेछ ।
यो बुँदामा कांग्रेसको फरक मत यस्तो छ :
ऐन प्रारम्भ भएपछि एक विश्वविद्यालयले पाँच भन्दा बढि शिक्षण संस्थालाई सम्बन्धन दिन सक्नेछैन । यसअघि सम्बन्धन दिईसकेको चिकित्सा शिक्षण संस्थामा यो प्रावधान लागु हुनेछैन । काठमाडौं उपत्यका बाहिरको हकमा आयोगले नीति निर्माण गरी निर्णय गरे बमोजिम हुनेछ ।
दफा १५ को उपदफा ५
सिटिइभिटीले सञ्चालन गरेको प्रमाणपत्र तह भन्दा मुनीका स्वास्थ्य शिक्षा सम्बन्धी कुनै पनि प्राविधिक कार्यक्रमहरु तोकिए बमोजिम फेज आउट हुन र आयोगले तोकेको मापदण्ड बमोजिम स्तरोन्नति अपग्रेड गरिनेछ ।
यो बुँदामा कांग्रेसको फरक मत यस्तो छ :
सिटिईभिटीले सञ्चालन गरेको प्रमाणपत्र तह भन्दा मुनीका स्वास्थ्य शिक्षा सम्बन्धी कुनै पनि प्राविधिक कार्यक्रमहरु पाँच बर्ष भित्रमा क्रमश फेजआउट गर्दै जाने ।
दफा ४६
प्रतिवेदनमा उल्लेख स् सरकारले एक चिकित्सा शिक्षा विश्वविद्यालय स्थापना र सञ्चालन गर्नेछ ।
यो बुँदामा कांग्रेसको फरक मत यस्तो छ :
यो व्यवस्था खारेज हुनुपर्छ ।
दफा ४७
प्रतिवेदनमा उल्लेख स् ऐन प्रारम्भ भएपछि १० वर्षपछि नेपालभित्र सञ्चालित चिकित्सा शिक्षा सम्बन्धी शिक्षण संस्था क्रमशः गैर नाफामुलक र सेवामुलक संस्थाका रुपमा रहनेछन् ।
हाल सञ्चालित र आशय पत्र पाईसकेका शिक्षण संस्थाले पनि १० वर्ष्भित्र गैर नाफामुलक र सेवामुलक शिक्षण संस्थाको रुपमा परिणत गर्नु पर्नेछ । गैर नाफामुलक शिक्षण संस्थाका सम्बन्धमा सम्बन्धित शिक्षण संस्थाले सरकारलाई सम्पति हस्तान्तरण गर्न चाहेमा सरकारले उचित मुआब्जा दिई स्वामित्व ग्रहण गर्नसक्नेछ ।
यो बुँदामा कांग्रेसको फरक मत यस्तो छ :
चिकित्सा सम्बन्धी शिक्षण संस्था क्रमश सेवामुलक संस्थाका रुपमा रहनेछन् । ऐन प्रारम्भ हुँदा स्थापना भई सञ्चालनमा रहेका संस्थाहरुको हकमा सेवामुलक संस्थामा रुपान्तरण हुने प्रकृया, स्वरुप र समय तोकिए बमोजिम हुनेछ । ऐन प्रारम्भपछि प्रारम्भ हुने कुनै पनि चिकित्सा सम्बन्धी शिक्षण संस्था सेवामुलक संस्थाका रुपमा मात्र स्थापित हुनेछ ।
प्रतिवेदनले केसीका के–के माग सम्बोधन गर्यो ?
वरिष्ठ चिकित्स केसीसँग सरकराले गरेको सहमतिअनुसार काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाइने, मेडिकल कलेजलाई गैरनाफामुलक बनाउने, महंगो चिकित्सा शिक्षालाई सबै जनताको पहुँचसम्म पुर्याउन छात्रवृत्तिको व्यवस्था लगायत अधिकांश सहमति भने संसदीय समितिले विधेयकमा समेटेको छ ।
सरकार र डा. केसीबीचको सहमतिअनुसार नै डेन्टल र नर्सिङ विषयमा स्नातक कार्यक्रम सञ्चालन गर्नका लागि शिक्षण संस्था स्थापना गर्न आशय पत्र नदिने, आशय पत्र पुरा गरी पूर्वाधार निर्माण गरेका शिक्षण संस्थाले भने सरकारलाई हस्तान्तरण गर्न चाहे सरकारले उचित मुआब्जा दिई स्वामित्व ग्रहण गर्नसक्ने, गठन गरिने चिकित्सा शिक्षा आयोगले प्राथमिकता तोकेको ठाउँमा स्थानान्तरण गर्न चाहेमा सरकारले प्रोत्साहन सुविधा उपलव्ध गराउने, सार्वजनिक मेडिकल कलेज वा प्रतिष्ठान नभएका प्रदेशमा नेपाल सरकारले ५ वर्ष्भित्र कम्तिमा एउटा सार्वजनिक मेडिकल कलेज सञ्चालन गर्नुपर्ने लगायतका विषय पनि प्रतिवेदनमा अटाइएको छ ।
सरकारले संसदमा प्रस्तुत गरेको चिकित्सा शिक्षा विधेयकमा विविध संशोधनको माग गर्दै अनसनरत डा. केसीसँग सरकारले गत १० साउनमा ९ बुँदे सम्झौता गरेको थियो ।

























