पोखरामा धुमधामसँग मनाइयो पृथ्वी जयन्ती, हिन्दू राष्ट्र माग
वि.सं.२०७५ पुस २७ शुक्रवार १९:३४
shares

हिन्दू राष्ट्रको माग गर्दै पोखरामा पृथ्वी जयन्ती मनाइएको छ । २९७औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मूल समारोह समिति कास्कीको आयोजनामा पोखरामा -याली प्रदर्शन गर्दै पृथ्बी जयन्ती मनाइएको हो ।
पोखराको मानवअधिकार चोकबाट सुरु भएको -याली, चिप्लेढुंगा, न्युरोड, सभागृह हुँदै पृथ्वीचोकमा पुगेर समापन भएको थियो । हिन्दू राष्ट्र कायम गर्न माग गर्दै -यालीका सहभागीले विभिन्न बाजगाजाका साथमा प्लाकार्डसमेत प्रदर्शन गरेका थिए ।
विश्वमा एकमात्र हिन्दू राष्ट्र नेपाललाई पुनः हिन्दू राष्ट्र कायम गरी धार्मिक सहिष्णुता कायम गर्न समितिका संयोजक शंकर खरालले माग गरे । राष्ट्रनिर्माता तथा एकताका प्रतीक पृथ्वीनारायण साहको जन्मदिनका अवसरमा सरकारले राष्ट्रिय बिदा दिनुपर्ने उनले माग गरे ।
पञ्चे बाजा, भजन र चुड्काका साथमा पृथ्वीनारायण साहको तस्बिर र नेपालको झण्डासमेत प्रदर्शन गरिएको थियो । नागरिक स्तरबाट पृथ्वीनारायण शाहको योगदानलाई उच्च कदर गर्दै पोखरामा निकालिएको -यालीमा सर्वसाधारणको उत्साहजनक सहभागिता भएको समितिका सल्लाहकार प्रा. डा. दिलबहादुर क्षत्रीले जानकारी दिए ।

























