जग्गाको कित्ताकाट फुकुवा
वि.सं.२०७५ पुस २८ शनिवार ००:५४
shares

लामो समयपछि सरकारले जग्गाको कित्ताकाट फुकुवा गरेको छ । डेढ वर्षअघि मन्त्रीस्तरीय निर्णयबाट रोक लगाएको कित्ताकाट फुकुवा भएको हो ।
कृषियोग्य जग्गाको खण्डीकरण हुने क्रम बढेको भन्दै यसअघि कित्ताकाट रोकिएको थियो । अब भने सम्बन्धित स्थानीय तहले ‘खेती योग्य जग्गा’ होइन भनेर सिफारिस गरेपछि कित्ताकाट गर्न पाइने छ ।
कृषियोग्य जग्गाको खण्डीकरण सम्बन्धमा मन्त्रालयद्वारा शुक्रबार जारी निर्देशनमा भनिएको छ, ‘फिल्डबुकमा सहरी क्षेत्रको किसिम ‘क’देखि ‘ङ’सम्म कायम भएका वा बसोबास तथा व्यावसायिक क्षेत्र किसिम जनिएका वा फिल्डबुक वा स्रेस्तामा अन्य जुनसुकै किसिम जनिए तापनि स्थानीय तहबाट खेती योग्य जग्गा होइन भन्ने व्यहोरा लेखी आएका कित्ता जग्गाहरू प्रचलित कानुनी व्यवस्था बमोजिम खण्डीकरण वा कित्ताकाट गर्ने’ भनिएको छ ।
मन्त्रालयले २६ साउन २०७४ मा कित्ताकाट रोक्न गरेको सम्पूर्ण निर्णय खारेज गरेको छ । त्यतिबेला मन्त्रालयले ‘जग्गा प्लटिङ गर्ने व्यक्ति, फर्म, संस्था वा कम्पनीले सम्बन्धित निकायबाट अनुमति लिएर वा नलिइकन कृषियोग्य जग्गा कुनै पनि प्रकारले खण्डीकरण गरी घडेरीको रुपमा बिक्री वितरण गर्नरगराउन पाउने छैन’ भन्ने निर्णय गरेको थियो ।
नेपाल सरकारको आधिकारिक निकायले जग्गा विकास योजना सञ्चालन गरेको हकमा भने कृषि योग्य जग्गा पनि कित्ताकाट गर्न पाउने मन्त्रालयको निर्णय छ ।

























