प्रहरी र तस्करबीच दोहोरो गोली हानाहान, एक तस्करको मृत्यु
वि.सं.२०७५ पुस २९ आइतवार १६:१४
shares

रुपन्देहीको भैरहवामा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको छ । रुपन्देही प्रहरी र तस्करबीच राति १२ बजे भएको दोहोरो फायरिङमा एक तस्करको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा प्रहरी जवान घाइते भएका छन् । गस्तीमा खटिएका प्रहरी जवान कृष्ण श्रेष्ठको बायाँ हातमा गोली लागेको हो ।
सिद्धार्थनगर नगरपालिका–१०, शंकरपुरमा गस्तीमा खटिएको प्रहरी टोलीमाथि अकस्मात गोली प्रहार भएपछि प्रहरीले जवाफी फायरिङ गर्दा एकजना तस्करको मृत्यु भएको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक हृदय थापाले जानकारी दिए । भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएको करिब ३०-३५ वर्ष उमेरको एक तस्करको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । उनको शव हाल पोस्टमार्टमका लागि भीम अस्पताल, रुपन्देहीमा राखिएको छ ।
भारतीय मोटरसाइकल यूपी ५३ एच २०२८ मा आएका तस्करलाई सादा पोसाकका प्रहरीले रोक्न खोज्दा प्रहरीमाथि गोली प्रहार भएको थियो । प्रहरीको गोली लागेर मृत्यु भएका तस्करको भने अहिलेसम्म पहिचान नखुलेको एसपी थापाले बताए ।

























