लेन अनुशासन पालना नगर्ने १४ हजार चालक कारबाहीमा
वि.सं.२०७५ पुस २९ आइतवार १७:५२
shares

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालू आर्थिक वर्षको ६ महिनामा लेन अनुशासन पालना नगर्ने १४ हजार २३१ सवारी साधनका चालकलाई कारबाही गरेको छ । महाशाखाको टोलीले सडकमा लेन अनुशासन पालना नगरी जथाभावी सवारी साधन चलाउने सवारी चालकलाई कारवाही गरेको हो । जसमा पुरुष १३ हजार ३३० र ९०१ महिला चालक छन् ।
महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले आफ्नो लेन छोडेर अर्काको लेनमा जथाभावी सवारी चलाउने चालकलाई कारबाही गरिएको जानकारी दिए । ‘आफ्नो लेन छोडेर अर्काको लेनबाट सवारी चलाउँदा धेरै दुर्घटना हुन थालेपछि ट्राफिक प्रहरीले लेन अनुशासनलाई कडाइ गरेका हौं,’ उनले भने ।
महाशाखाले सिसीटिभी, गोप्रो क्यामरा, बडीवान क्यामराबाट समेत लेन अनुशासन कारवाही गर्दै आएको छ । सिसीटिभीबाट लेन अनुशासन कायम नगरेको भेटिएमा सवारी साधन नम्बर टिपेर घरमा चिठी पठाउने र जरिवानासमेत गर्ने गरेको छ ।
लेन अनुशासन कायम नगर्ने सवारी साधनका चालकलाई ५०० जरिवाना र एक घण्टा कक्षा लिँदै आएको छ । विसं २०७१ असोज २६ देखि लेन अनुशासन कायम नगर्ने सवारी साधनलाई कारबाही गर्दै आएको महाशाखाले हालसम्म दुई लाख ७९ हजार ७५६ सवारी चालकलाई कारबाही गरी कक्षा लिइसकेको छ । जसमा दुई लाख ६६ हजार ५८४ पुरुष र १३ हजार २७२ महिला रहेका छन् । (रासस)

























