प्रदेश २ मा फेरि मन्त्री र सचिवबीच लफडा, मन्त्रीले सचिव कुटे
वि.सं.२०७५ पुस ३० सोमवार ०१:०४
shares

प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले सचिवलाई कुटपिट गरेका छन् । मन्त्री यादवले उद्योग वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई आफ्नै कार्यकक्षमा बोलाएर कुटपिट गरेका हुन् । कुटपिटको भिडियो नै बाहिरिएको छ ।
प्रदेश २ मा गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमका लागि आफ्नो निकटको गैरसरकारी संस्था (एनजीओ) लाई छनोट नगरेको भन्दै मन्त्री यादवले आफूमाथि कुटपिट गरेको पीडित सचिव झाले बताएका छन् । कार्यक्रम सञ्चालनका लागि मन्त्रालयमा १९३ वटा गैरसरकारी संस्थाले आशय पत्र दिएका थिए । त्यसमा ४० वटा संस्था छनोट भएका थिए ।
मन्त्री यादवले भने सचिव झाले सभामुख र एक सांसदकै अगाडि आफूमाथि आक्रमण गरेकाले आत्मरक्षाका लागि रोक्ने प्रयास गरेको बताएका छन् । सचिव झा प्रदेशका सभामुख र अर्का एक जना मन्त्रीका अगाडि ‘आफू लोकल हुँ’ भन्दै धाक लगाउँदै मुखमुखै लागेको मन्त्री यादवको भनाइ छ ।
सचिव कुटपिटको विरोधमा धर्ना
सचिव झालाई मन्त्रीले कुटपिट गरेको भन्दै विरोधमा कर्मचारीहरुले मन्त्रीको मुख्य कार्यालयको गेटमा धर्ना दिएका छन् । मन्त्री कोठामै थुनिएपछि सचिव झालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सचिव झा महोत्तरीमा वन प्रमुख हुँदा र कर्णाली प्रदेशमा हुँदासमेत विवादित भएपछि मन्त्रालय हुँदै प्रदेश २ आएका हुन् ।

























