डाक्टर केसीको स्वास्थ्य अवस्था कमजोर, सुईबाट दिइयो ‘एन्टिबायोटिक’
वि.सं.२०७५ माघ २ बुधवार ०४:५२
shares

चिकित्सा शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै इलाममा अनसनरत प्राध्यापक डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था थप कमजोर बनेको छ । केसीलाई सुईबाट एन्टिबायोटिक औषधी दिइएको छ ।
विगत सात दिनदेखि अनसनमा रहेका केसीलाई रगत, मुटु, फोक्सो र पिसाबसम्बन्धी समस्या देखिएको छ । ‘डा केसीको स्वास्थ्यमा धेरै किसिमका रोगको सङ्क्रमण देखिएकाले थप सुविधा दिइएको हो, स्वास्थ्य अवस्था थप कमजोर हुँदै गएपछि उहाँलाई हामीले सुईबाट एन्टिबायोटिक (आइभी एन्टिबायोटिक) औषधि दिन सुरु गरेका छौं’ इलाम अस्पतालका चिकित्सक डा. वृजेशकुमार शाहले भने ‘हामीले अरू सेवा पनि दिन खोज्यौँ तर डा. साबले (डा गोविन्द केसी)ले मान्नु भएन ।’
डा. शाहका अनुसार अनशनरत केसीको मुटुको चाल घटेर ३५ र बढेर २०० सम्म पुगेको छ भने शरीरमा अक्सिजनको मात्रा घटेर ८० प्रतिशतसम्म पुगेको छ । केसीलाई आइसियूमा राख्नुपर्ने भए पनि अस्पतालमा आइसियू नभएकाले उपचारमा समस्या देखिएको छ । उपचारका लागि डा केसी अन्यन्त्र जान नमानेपछि इलाम अस्पतालमै आइसियूको सेवा दिने तयारीसमेत भइरहेको बताइएको छ ।

























