भूकम्पको ४४ महिना : कामभन्दा कुरा धेरै, अझै हजारौं पीडित त्रिपालमुनि
वि.सं.२०७५ माघ २ बुधवार १५:४५
shares

गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर २०७२ साल वैशाख १२ गते विनाशकारी भूकम्प गएको ४४ महिना पूरा भएको छ । यो अवधिमा भूकम्पपीडितलाई पुर्नस्थापना र संरचना पुनर्निर्माणका काम अझै सन्तोषजनक गतिमा अघि बढ्न सकेको छैन ।
प्राधिकरण गठन गरी काम अघि बढाइएको भए पनि नेतृव अस्थिर बन्दा अझै हजारौं भूकम्पपीडितको वास त्रिपालमुनी नै छ । पुनर्निर्माणका लागि भने अहिलेसम्म २ खर्ब १७ अर्ब रुपैयाँ खर्च भइसकेको छ । प्राधिकरणले म्यान्डेड अनुसार प्रगति हासिल गर्न सकेको छैन । प्राधिकरणले पुनर्निर्माणको काम सक्न अझै दुई वर्ष लाग्ने बताइरहँदा अहिलेको प्रगति अवस्था हेर्दा विश्वास गर्ने अवस्था भने छैन ।
प्राधिकरण गठन भएको तीन वर्षमा ३ लाख ४७ हजार ८ सय १७ परिवारले नयाँ घर बनाएका छन् भने अन्य दुई लाख घर समेत निर्माण भएका छन् । भूकम्पले थलिएका केही बस्ती उठे पनि दोलखाका ३० हजार परिवारको बास अझै त्रिपालमुनी नै छ । प्राधिरणले ८ लाख ११ हजार १ सय ५४ परिवार सरकारी अनुदान पाउन योग्य ठहर्याएको थियो । उनिहरुमध्ये तीन चौथाईसँग मात्र अनुदान सम्झौता भएको छ । झन्झटिलो प्रक्रिया र कर्मचारी अभावमा सेवाग्राहीले समयमा लाभ लिन सकिरहेका छैनन् । तीन लाख घोषणा गरिए पनि तीन किस्तामा अनुदान वितरण हुने भएकाले भूकम्पपीडितले सास्ती खेपेका छन् ।
शैक्षिक संस्थाको अवस्था
भूकम्पमा ध्वस्त भएका शैक्षिक, स्वास्थ्य संस्था र पुरातात्त्विक सम्पदाको पुनर्निर्माणको अवस्था पनि सुस्त नै छ । ७ हजार ५ सय ५३ विद्यालय भवनमध्ये ४ हजार १ सय ७२ वटा विद्यालय भवनको पुनर्निर्माण सकिएको प्राधिकरणले जनाएको छ । अहिले दुई हजार विद्यालयको पुनर्निर्माण जारी रहको र आर्थिक वर्षमा क्षति भएका दुई तिहाई विद्यालयको पुनर्निर्माण सक्ने प्राधिकरणको योजना छ ।
५० प्रतिशत मात्रै स्वास्थ्य संस्था पुनर्निर्माण
भूकम्पले क्षति पुर्याएका स्वास्थ्य संस्थाहरूको भवन निर्माण स्वास्थ्य मन्त्रालयको मापदण्डका आधारमा भइरहेको प्राधिकरणले जनाएको छ । क्षति पुगेका १ हजार १ सय ९७ स्वास्थ्य संस्थाका भवनमध्ये आधी मात्र भवन निर्माणको काम सकिएको प्राधिकरणको तथ्यांक छ । यो वर्षमा अन्य दश प्रतिशत स्वास्थ्य संस्थाको पुनर्निर्माण सक्ने प्राधिकरणको लक्ष्य छ ।
बनेनन सरकारी कार्यालय
निजी आवाससँगै सरकारी कार्यालयको पुर्निर्माणको काम पनि प्राधिकरण अन्तर्गत छ । अहिलेसम्म ३५ प्रतिशत मात्र सरकारी भवन बनेका छन् । भत्किएका ४ सय १५ भवन मध्ये २ सयको हाराहारीमा मात्र पुनर्निर्माण सकिएको छ ।
पुरातात्विक सम्पदा निर्माणमा चुनौती
पुरातात्त्विक र सांस्कृतिक सम्पदाको पुनर्निर्माण भने सबैभन्दा चुनौतीपूर्ण देखिएको छ । सम्पदा पुरानै शैलीमा निर्माण गर्नुपर्ने हुँदा निर्मामा प्रयोग गर्ने सामाग्री जुटाउन प्राधिकरणलाई धौ–धौ छ । भूकम्पमा सात विश्व सम्पदा क्षेत्रमा क्षति पुगेको थियो भने उपत्यकाभित्रका ४९ पुराना बस्ती, गोरखा दरबार क्षेत्र, नुवाकोट दरबार क्षेत्र र दोलखा भीमेश्वर मन्दिर क्षेत्र पुरानै शैलीमा बनाउनुपर्ने छ ।
भूकम्पबाट खण्डहर बनेका ७ सय ५३ वटा पुरातात्त्विक र सांस्कृतिक सम्पदामध्ये २ सय १२ वटाको मात्रै पुनर्निर्माण सम्पन्न सकिएको छ । ४४ महिनाको अवधिमा २८ प्रतिशत मात्र काम पूरा भएको छ । रानीपोखरी, काष्ठमण्डप, धरहरा, सिंहदरबारजस्ता सम्पदाको पुनर्निर्माण ठप्प प्राय छ । भूकम्पमा भत्किएका सडक र खानेपानी संरचनाको पुनर्निर्माण पनि उस्तै सुस्त छ । ३ हजाभन्दा बढी खानेपानी संरचना निर्माणमा एक तीहाइ काम पनि सकिएको छैन ।
भूकम्प र त्यसपछिका पराकम्पनमा परी करिब ९ हजारको मृत्यु भयो । भूकम्पले करिब ७ खर्ब रुपैयाँको क्षति पुर्याएको थियो ।



























