नेपाली मेहनती र इमान्दार छन्, रोजगारी कोटा बढाउँछौं : इजरायल
वि.सं.२०७५ माघ २ बुधवार १९:३४
shares

इजरायलले नेपाली कामदारका लागि रोजगारी कोटा बढाउने भएको छ । नेपालका लागि इजरायली राजदूत बेन्नी ओमरले ठूलो संख्यामा नेपाली कामदार इजरायल लान सकिने बताएका हुन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँगको भेटमा राजदूत ओमरले भने, ‘अहिले इजरायलमा काम गरिरहेका नेपाली मेहनती र इमान्दार छन्, त्यसैले हाम्रो मुलुकमा नेपाली कामदारको संख्या बढाउन हामी सकारात्मक छौं ।’
इजरायल सधैं नेपालको शुभचिन्तक रहेको भन्दै उनले नेपालको आर्थिक समृद्धिमा इजरायलले साथ दिने बताए । अहिले इजरायलले नेपाली कामदारका लागि सीमित कोटा राखेको छ । इजरायलले हिब्रु भाषा जानेका र निश्चित सीप भएकालाई कामदारका रुपमा तथा १२ कक्षा पास गरेकालाई आधुनिक कृषि तालीमका लागि प्रशिक्षार्थीका रुपमा लैजाने गरेको छ । ‘इजरायलबाट आधुनिक कृषि तालीम लिएर फर्किएका युवाहरु उद्यमी बनेको देखेर म खुसी र उत्साहित छु,’ श्रममन्त्री विष्टसँगको भेटमा राजदूत ओमरले भने ।
भेटमा मन्त्री विष्टले ‘केयर गिभर’का रुपमा काम गर्ने कामदारको संख्या थप गर्न राजदूत ओमरको ध्यानाकर्षण गराए । श्रम सम्बन्धको माध्यमबाट नेपाल र इजरायलबीचको द्विपक्षीय सम्बन्धलाई अझै प्रगाढ बनाउन सकिने उनले बताए । मन्त्री विष्टले कृषि र पर्यटनको क्षेत्रमा पनि द्धिपक्षीय सहकार्यका लागि आह्वान गरे ।
कामदारका लागि इजरायल अनुकुल मुलुक मानिन्छ । मुस्लिम मुलुकसँग तनावमा रहे पनि अहिलेसम्म विदेशी कामदारले यो मुलुकमा त्रासमा बाँच्नु परेको छैन । कामदारमाथि हुने हिंसा वा यातनाको प्रतिशत पनि करिब शून्य छ । हाल इजरायलले कृषि र जेष्ठ नागरिक हेरचाहका लागि केयर गिभरका रुपमा नेपालसहित थाइल्याण्ड, फिलिपिन्स, श्रीलंका, भारतबाट कामदार लाने गरेको छ । यद्यपि, अन्य मुलुकको तुलनामा नेपालका लागि रोजगारी कोटा न्यून छ । राजदूत ओमरका अनुसार यस्तो कोटा बढाउने तयारी इजरायलले गरिरहेको छ ।

























