प्रदेश १ : प्रदेशसभाको हिउँदे अधिवेशन माघ २० गतेदेखि
वि.सं.२०७५ माघ २ बुधवार २२:२२
shares

प्रदेश-१ स्थित प्रदेशसभाको हिउँदे अधिवेशन माघ २० गतेबाट सुरु हुने भएको छ । बुधबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले २० गतेदेखि हिउँदे अधिवेशन सुरु गर्ने मिति तय गरेको हो ।
सरकारको सिफारिसमा अब प्रदेश प्रमुख गोविन्दबहादुर ताम्बाहाङले अधिवेशन आह्वान गर्नेछन् । प्रदेशसभाको बर्षे अधिवेशन गत असोज २३ गतेसम्म चलेको थियो ।
प्रदेशको नाम र राजधानी तोक्न सरकारले गृहकार्यसमेत सुरु गरेकोले यो अधिवेशनलाई निकै महत्वका साथ हेरिएको सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले बताए । गत असोज २३ गते वर्षे अधिवेशन सम्पन्न भएदेखि हिउँदे अधिवेशन सुरु हुन सकेको छैन ।
यसैबीच मन्त्रिपरिषद् बैठकले कोसी रिफ्रेसमेन्ट आयोजनाका लागि बजेट विनियोजन गरेको छ । आर्थिक मन्त्रालयको विशेष पहलमा सुनसरीको कोसी गाउँपालिकामा लामो दूरीका सवारी साधनका चालकहरुका लागि थकान मेटाउन, ट्राफिक सचेतना तथा होल्डेजका रिफ्रेसमेन्टका लागि रिफ्रेसमेन्ट आयोजना सञ्चालन गरिने भएको हो ।
यस्तै बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालयले अघि सारेको सगरमाथा टिन्स क्लबको गठन तथा निर्देशिका पनि स्वीकृत गरेको छ । यो क्लबले कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुका लागि विभिन्न किसिमका तालिम तथा प्रशिक्षण दिने जनाइएको छ ।
‘म अघि बढ्छु’ भन्ने नारासहितको कार्यक्रमले सामुदायिक तथा संस्थागत विद्यालयमा लागू औषधसम्बधी अभिमुखी कार्यक्रमलाई विशेष प्राथमिकतामा राख्ने मन्त्री कार्कीले जानकारी दिए ।
बैठकले मुख्यमन्त्री ग्रामीण सडक सुधार आयोजना, प्रदेशको भूमि व्यवस्था, प्रदेश पर्यटन विकास विधेयक लगायतका विषयमा पनि निर्णय गरेको प्रदेश १ सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला मन्त्री कार्कीले बताए ।

























