मन्त्रिपरिषदको निर्णय- पानी जहाज कार्यालय खोल्ने, लगानी सम्मेलन गर्ने
वि.सं.२०७५ माघ ३ बिहीवार २३:२६
shares

सरकारले पानी जहाज कार्यालय खोल्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले संगठन संरचनासहित कार्यालय खोल्ने निर्णय भएको जानकारी दिए ।
बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै मन्त्री बाँस्कोटाले भने, ‘यो चर्चित विषय छ । अब कागजको होइन साँच्चिकै नेपाली पानी जहाज कार्यालयको खोल्ने निर्णय भएको छ ।’
इन्जिनियरिङ सेवामा कार्यरत रजिष्ट्रारको नेतृत्वमा १५ कर्मचारी रहने गरी कार्यालय स्थापना गर्ने निर्णय भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पानी जहाजको कुरा गर्दा धेरैले हाँसोको विषय बनाइरहेका बेला सरकारले गरेको निर्णयलाई महत्वको साथ हेरिएको छ ।
यस्तै सरकारले आउँदो चैतको दोस्रो साता लगानी सम्मेलन गर्ने निर्णय भएको बाँस्कोटाले जानकारी दिए । चैत १५ र १६ गते ‘लगानी सम्मेलन–१९’ गर्ने सम्मेलन भूकम्पपछि आयोजना गरेको सम्मेलनभन्दा विल्कुलै फरक हुने जनाईएको छ ।
बाँस्कोटाले भने ‘अहिले परिस्थिति फेरिएकोले लगानी सम्मेलन हो । त्यो पृथक छ । प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने र नेपालको समृद्धि र सुखी नेपालीको चाहनालाई पूरा गर्न विदेशी राष्ट्र, संस्थालाई आग्रह गर्छौं ।’
उनले लगानी सम्मेलनको तयारीसमेत आरम्भ गरिसकेको जानकारी दिए ।

























