काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सगरमाथालाई विश्राम

15.16K
shares

सगरमाथा नेपालको मात्र होइन, विश्वकै गौरव हो, सान हो । नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतको बीचमा शिर ठाडो परेर उभिएको ८,८५० मिटर अग्लो यो सर्वोच्च शिखर आरोहण गर्न विश्वभरिकै पर्वतारोहीहरूको अभिलाषा हुन्छ । त्यसैले सन् १९२० को दशकदेखि नै आरोहीहरूले सगरमाथा आरोहरणका प्रयास गरिसकेका छन् । १९५० मा नेपाली मोहडा खुला गरिनुपूर्व आरोहीहरू तिब्बती मोहडाबाट प्रयास गर्थे । सन् १९२४ मा जर्ज म्यालोरी र एन्ड्रयु इरभिनले उत्तरी मोडहाबाट सगरमाथा आरोहणका प्रयास गरेका थिए तर दुवै जना असफल भए र उनीहरूको सगरमाथामै निधन भयो । सन् १९५० मा सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले यो सर्वोच्च शिखरको आरोहरण गरेपछि यसको ख्याति चुलिएको हो । स्मरणीय तथ्यचाहिँ के हो भने हिलारी र तेन्जिङ नोर्गे शेर्पाबाहेक उक्त आरोहणमा भरिया, भान्से र बाटो बनाउने टोली गरेर ५० जनाजतिको सहभागिता थियो । सगरमाथाको आरोहणबाट नेपालले बर्सेनि करोडौं रोयल्टी आर्जन गर्छ, दोलखा, रामेछापदेखि सोलुखुम्बु र ओखलढुंगाका शेर्पा, तामाङ र अन्य समुदायको जीविका आरोहणको अर्थतन्त्रले नै चलेको छ ।

सगरमाथा आरोहणको झन्डै सात दशकको अवधिमा हामीले सगरमाथाबाट धेरै लियौं, सगरमाथालाई के दियौं भन्ने प्रश्न उब्जन्छ । सगरमाथालाई तिब्बततिर झोमोलोङ्मा भनिन्छ भने सोलुखुम्बुका शेर्पाहरूले चोमलुङ्मा÷छोमलुङ्मा । उनीहरूले सगरमाथालाई भगवानजतिकै पुज्ने गर्छन् । त्यसैले कुनै पनि एक्सपिडिसन सुरु हुनुपूर्व सगरमाथामा विशेष पूजाअर्चना हुने गर्छ ।

यस्तो पवित्र स्थानलाई हामीले फोहोरको डंगुर बनाएका छौं । सगरमाथामा अनेकन कीर्तिमान राख्ने नाममा पवित्र शिखरलाई बद्नाम गरेका छौं । यसको अस्तित्वमाथि धावा बोलेका छौं । आधार शिविरदेखि समिट क्षेत्रसम्मै फोहोरको यति डंगुर जम्मा भइसक्यो कि आरोहीहरू फोहोर पन्छाउँदै हिँड्न बाध्य छन् । हिमपहिरो र हिम खाल्डो (खर्भास)हरूमा यत्रयत्र देखिने शवहरूले आरोहीहरूमा आतंक नै सिर्जना गरिसकेको छ । केही शेर्पा आरोहीहरूका अनुसार सगरमाथामा झन्डै ३०० वटा मानव शव यत्रतत्र झुन्डिएका छन् । टेन्ट, प्लास्टिक, क्यान, स्टोभका टुक्रा, खादा, अक्सिजिन सिलिन्डर, मानव मलमुत्र यति धेरै जम्मा भइसकेको छ, सगरमाथामा कति फोहोर छ भन्ने अनुमान पनि लगाउन सकिएको छैन ।

सगरमाथालाई यस्तै अव्यवस्थित, नियमनहीन ढंगले छोड्ने हो भने न यसको मर्यादा रहन्छ न अहिलेजस्तो आरोहणको आकर्षण नै । विश्व रेकर्ड राख्ने नाममा पवित्र शिखरमाथि जुन किसिमका अवाञ्छित गतिविधि भइरहेका छन्, त्यस्ता आरोहीलाई नेपाल सरकारले कडा निगरानी राखी यहाँ प्रवेश निषेध गर्नेसम्मको हिम्मत गर्नुपर्छ । भर्खरैमात्र चीन सरकारले आउँदो गर्मी महिनाका लागि सगरमाथा आरोहीहरूको संख्यामा सीमा लगाएको छ, आरोहीहरूका अनुसार गत वर्षको आरोहण सिजनमा हिलारी स्पेटबाट माथि शिखर पुग्ने स्थानसम्म मानव ट्राफिक जाम नै भएको थियो ।

त्यसै पनि जलवायु परिवर्तनका कारण कालापत्थरमाथि हिउँ जम्न छाडेको, भएका पुराना महत्वपूर्ण हिमताल सुक्न, खुम्चिन थालेको र नयाँ नयाँ हिमताल, हिमनदी बन्न थालेको अहिलेको अवस्थामा अब ‘हिमालय बचाऊँ’ अभियान नै व्यापक रूपमा सञ्चालित गर्नुपर्छ । जसको पहिलो चरणमा आरोहीका संख्या घटाउनेमात्र होइन, निश्चित समय सगरमाथाको आरोहण रोकेर व्यापक सफाइ अभियान चलाउनुपर्छ । विगतमा नेपाली मोहडाबाट सगरमाथाको सफाइ अभियान चलाइएकोमा त्यो त्यति प्रभावकारी हुन नसकेको परिप्रेक्षमा उत्तरी मोहडाबाट थालिएको सफाइ अभियानमा नेपालले पनि साझेदारी गर्नुपर्छ ।

यो पनि पढ्नुहोस्

चीनले सगरमाथा आरोहणमा तोक्यो सीमा