वान डे सिरिज जित्ने लक्ष्य लिएर नेपाली क्रिकेट टोली युएई प्रस्थान
वि.सं.२०७५ माघ ८ मंगलवार २३:४५
shares

वान डे र टी–ट्वेन्टी सिरिज जित्ने लक्ष्यका साथ नेपाली राष्ट्रिय क्रिकेट टोली संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अपरान्ह सवा ४ बजे १६ सदस्यीय टोली युएई प्रस्थान गरेको हो ।
पारस खड्काको कप्तानीमा रहेको टोलीमा उपकप्तान ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, बसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, प्रदीप ऐरी, सोमपाल कामी र विनोद भण्डारी छन् । सन्दीप झोरा, पवन सर्राफ, भीम सार्की र अबिनास बोहोराले सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका छन् । वैकल्पिकतर्फ भने ललितसिंह भण्डारी, विक्रम सोब र सुशन भारी छन् ।
वान डे र टी–ट्वेन्टी सिरिज शुक्रबारबाट सुरु हुने छ । नेपालले युएईसँग तीन एक दिवसीय र तीन टी–ट्वान्टी सिरिज खेल्नेछ । उक्त सिरिजका लागि चार नयाँ खेलाडीले डेब्यु गरेको जानकारीसहित शनिबार राष्ट्रिय टोलीको घोषणा गरिएको थियो ।
युएई प्रस्थान गर्नुअघि कप्तान पारस खड्काले एकदिवसीय र टी–ट्वान्टी सिरिजका खेल्न टोली उत्साहित रहेको बताए । ‘खेलाडीमा जोश जाँगर देखिएकाले वान डे सिरिज जित्न कोशिस गर्नेछौ,’ खड्काले भने । प्रशिक्षक जगत टमाटाले युएईसँग नेपाली टोलीले राम्रो खेल्ने विश्वास व्यक्त गरे ।
नेपालले घरेलु टोलीसँग माघ ११, १२ र १४ गते वान डे र माघ १७, १८ र २० गते ट्वान्टी २० क्रिकेट खेल्नेछ । एक दिवसीय मान्यता पाएपछि युएईविरुद्धको शृंखला नेपालका लागि दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय शृखंला हुनेछ । यसअघि विश्व क्रिकेट परिषद् (आइसिसि) बाट एकदिवसीय मान्यता पाएपछि नेपालले नेदरल्याण्ड्ससँग पहिलो एकदिवसीय शृंखला खेलेको थियो। दुई खेलको शृंखला एक–एक जितको बराबरीमा सकिएको थियो ।

























