राष्ट्र संघले नेपाललाई भन्यो- चीनबाट लाभ लेऊ
वि.सं.२०७५ माघ ११ शुक्रवार १९:०५
shares

संयुक्त राष्ट्र संघले चीनमा बढ्दो श्रम लागतका कारण नेपाललाई अवसर प्राप्त भइरहेको भन्दै यसबाट लाभ उठाउन सुझाव दिएको छ । “नेपाल र कम्बोडियाको सस्तो श्रम लागतका कारण चीनका श्रममुखी उत्पादन गतिविधिका कारण यिनीहरू आर्कषक गन्तव्य हुनसक्छ । यी मुलुकहरूले वैदेशिक लगानीका लागि आन्तरिक पूर्वाधार र व्यावसायिक वातावरणमा सुधार गर्नुपर्नेछ”, राष्ट्र संघद्वारा जारी प्रतिवेदनमा भनिएको छ ।
चिनियाँ अर्थतन्त्रका विस्तार बढ्दो श्रम लागतकै कारण खुम्चेको ठहर गर्दै राष्ट्र संघले नेपाललाई खुम्चिँदो चिनियाँ औद्योगिक विस्तार यता सार्न सकिने संकेत गरेको हो । हालैका समयमा नेपालमा चिनियाँ वैदेशिक लगानी पनि बढ्दै गएको छ ।
नेपालले आर्थिक क्षेत्रमा हासिल गरेका उपलब्धीबारे राष्ट्र संघ सन्तुष्ट देखिएको छ । नेपालबारेका टिप्पणीमा राष्ट्र संघले भनेको छ- अतिकम विकसित मुलुकका सूचीबाट स्तरोन्नतिका लागि नेपाल र टिमोर लिस्टेले तोकिएका मापदण्ड पूरा गरेका भए पनि आर्थिक एवं राजनीतिक कारणहरूले उनीहरू यस पटक स्तरोन्नति भएनन् । सन् २०२१ मा यी मुलुकहरू स्तरोन्नति हुनेछन्।
यसैबीच, सरकारले जसरी भए पनि यस वर्ष ७ प्रतिशतभन्दा माथिकै आर्थिक वृद्धिदर हासिल हुन्छ भन्ने ठोकुवा गरिरहेका बेला संयुक्त राष्ट्र संघले यो वर्ष त के आँउदो वर्षसम्म नेपाल ५ प्रतिशतकै वृद्धिदरमा खुम्चने प्रक्षेपण गरेको छ । राष्ट्र संघद्वारा जारी वर्ल्ड इकोनोमिक सिचुएसन प्रतिवदेनअनुसार यो वर्ष नेपालको आर्थिक वृद्धिदर साढे पाँच प्रतिशतभन्दा तलै खुम्चिने छ ।
यसैगरी आउँदो वर्ष ५.१ प्रतिशतका मात्रै आर्थिक वृद्धिदर कामय हुने संयुक्त राष्ट्र संघले उल्लेख गरेको छ ।

























