तरूण दलको चेतावनी- सरकार नसच्चिए सडक तताउँछौं
वि.सं.२०७५ माघ १२ शनिवार ००:०७
shares

नेपाली कांग्रेसको भातृ संगठन तरूण दलले सरकार नसच्चिए आन्दोलनबाट हटाउने चेतावनी दिएको छ । शुक्रबार पोखरामा भएको कार्यक्रममा तरूण दलका नेताहरूले सरकार संवैधानिक मर्म अनुरूप अघि नबढेको भन्दै यस्तै रवैया कायम रहे सडकबाटै शसक्त आन्दोलन गरी हटाउने चेतावनी दिए ।
पोखरामा नेपाल तरुण दल गण्डकी प्रदेशस्तरीय वृहत विरोध प्रदर्शनमा सहभागीहरूले सरकारले दुई तिहाइको दम्भ देखाउदै संविधानको मर्म तथा संवैधानिक बाटोविपरित बलमिच्याईपूर्वक कार्य गरिरहेको टिप्पणी गरे । नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले सरकारले संविधानलाई कुल्चिएर अन्य पार्टी र तरुण दललाई घेराबन्दी गरे सडकबाटै सशक्त आन्दोलन गरी सरकारबाट हटाईछाड्ने चेतावनी दिए ।
कम्युनिस्ट अधिनायकवाद अझ बढी हावी भए, त्यसविरुद्ध आफूहरु प्रतिवाद गरी वलिदान दिन तयार रहेको उनको भनाइ थियो ।
अहिले कांग्रेस एक भएकाले गाँउ, नगरमा एक हुने क्रममा रहेको उल्लेख गर्दै उनले अब कांग्रेसलाई कम नठान्न चेतावनी दिए । उनले निमर्ला हत्यामा संलग्न र वाइड बडी विमान खरिदमा संलग्नलाई कारबाही गर्न माग गरे ।

























