कांग्रेसले भन्यो- हाम्रो सालिनताले ठूलो घटना भएन
वि.सं.२०७५ माघ १२ शनिवार ००:३८
shares

आफ्नो अवरोधका बीच संसदबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले शुक्रबार पत्रकार सम्मेलन गरी सरकारले द्वन्द्वका लागि आमन्त्रण गरेको प्रतिक्रिया दिएको छ ।
उक्त विधेयक पारित हुन नदिन कांग्रेसले संसदमा अवरोध गरिरहेको थियो । यद्यपी जबर्जस्ती पास गरी आफूहरूलाई द्वन्द्वका लागि सरकारले आमन्त्रण गरेको कांग्रेसले प्रतिक्रिया दिएको छ ।
शुक्रबार कांग्रेस मुख्यालय सानेपामा पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले विवेक निलम्बन गरी जबर्जस्ती विधेयक पारित गरिएको आरोप लगाए । यसबाट सरकारप्रतिको नागरिक विश्वासमा ह्रास आएको उनको टिप्पणी थियो ।
आफूहरू सालिन रूपमा प्रस्तुत भइरहेको दावी गर्दै शर्माले त्यसलाई कमजोरी नठान्न आग्रह गरे । ‘धैर्यताले उचाइ छोएको छ, हाम्रो सालिनतालाई कमजोर नठानियोस्,’ प्रवक्ता शर्माले भने, ‘प्रतिपक्षको एक अपिलले मुलुक ठप्प हुन्छ ।’ कांग्रेसको सालिनताकै कारण शुक्रबार संसदमा ठूलो घटना नभएको उनको दावी थियो ।
संसदमा सरकारको प्रस्तुतीका कारण सतर्क हुनुपर्ने अवस्था आएको टिप्पणी गर्दै शर्माले भने, ‘आज कम्युनिस्ट पार्टी प्रतिपक्षमा भएको भए संसदमा कतिथान कुर्सी भाँचिन्थे होला ?’ बहुमत छ भन्दैमा मूल्य मान्यतालाई नविर्सन आग्रह गर्दै उनले भने, ‘बहुमत त हिटलरसँग पनि थियो ।’

























