देशको अर्थतन्त्र उत्पादनमूलक भएन : गभर्नर नेपाल
वि.सं.२०७५ माघ १२ शनिवार १३:१९
shares

नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले अर्थतन्त्रलाई उत्पादनमूलक बनाउन नसकिएको बताएका छन् ।
बैंकिङ, बीमा र पूंजीबजार सम्बन्धी प्रर्दशनीको बुटवलमा उद्घाटन गर्दै गभर्नर नेपालले वर्तमान अर्थतन्त्रले समृद्धिको सपनातर्फ उन्मुख बनाउन नसकेको बताएका हुन् । ‘अरब जस्तो बालुवायुक्त देशले नेपालका लागि दुध निर्यात गर्ने प्रस्ताव राख्छ’, उनले भने, ‘हामी कृषि प्रधान देश भएर पनि आयात गछैँ, यसैबाट प्रष्ट हुन्छ हामी कुन दिशा तर्फ जाँदैछौँ ।’
डेभलपमेन्ट बैंकर्स एसोसिएसनका केन्द्रीय उपाध्यक्ष प्रकाश पौडेलले मेला महोत्सवहरुले बैंक तथा वित्तीय क्षेत्र चलयामान बनाउन मुख्य भूमिका खेल्ने बताए ।
माइक्रो फाइनाइन्स एसोसियसनका अध्यक्ष पर्वत कार्कीले माइक्रोफाइनाइन्सहरुले नेपालको गरिबी निवारणमा भूमिका निर्वाह गरेको बताए ।
नेपाल बैँकर्स संघका अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुङगानाले वित्तीय पहुँचसँगै वित्तीय साक्षरता समेत विस्तार गर्नुपर्ने बताए । वित्तीय जागरण राष्ट्रिय अभियान र मिडिया इन्टरनेसनलको आयोजनामा सुरु भएको प्रदर्शनीमा ४० भिन्न बैंक, वित्तीय संस्था र शेयर कारोबार गर्ने पूँजी बजार सम्बन्धि संस्थाहरुको स्टल रहेका छन् ।

























