global ime bank Long Banner Ad

गृहपृष्ठ विराटनगर भन्सारको राजस्व संकलन लक्ष्यभन्दा कम

विराटनगर भन्सारको राजस्व संकलन लक्ष्यभन्दा कम

विराटनगर भन्सारको राजस्व संकलन लक्ष्यभन्दा कम

विराटनगर भन्सार कार्यालयले चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा ९४ प्रतिशत राजस्व संकलन गरेको छ । कार्यालयले चालू आर्थिक वर्षको ९ महिनामा ३० अर्ब ६२ करोड २९ लाख ८२ हजार रुपैयाँ लक्ष्य लिएकोमा ९४.३७ प्रतिशत अर्थात् २८ अर्ब ८९ करोड ९३ हजार रुपैयाँ राजस्व संकलन गरेको हो, जुन लक्ष्यभन्दा करिब ६ प्रतिशत र गत वर्षको तुलनामा करिब ५ प्रतिशत कम हो । गत वर्षको सोही अवधिमा कार्यालयले लक्ष्यको ९९.३४ प्रतिशत अर्थात् २२ अर्ब ३४ करोड ८५ लाख ७७ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।

भन्सार कार्यालयले चालू आर्थिक वर्षको साउनमा २ अर्ब ९७ करोड, भदौमा ३ अर्ब ७ करोड, असोजमा ३ अर्ब ९७ करोड, कात्तिकमा ३ अर्ब १५ करोड, मंसिरमा ३ अर्ब १९ करोड, पुसमा ३ अर्ब १६ करोड, माघमा २ अर्ब ७३ करोड, फागुनमा ३ अर्ब १५ करोड र चैतमा ३ अर्ब ४३ करोड राजस्व संकलन गरेको छ ।

लक्ष्य भेट्टाउँछौँ : सूचना अधिकारी पौडेल
विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी पौडेलले चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा राजस्व संकलन सन्तोषजनक रहेको बताए । बाँकी तीन महिनामा लक्ष्यअनुसार राजस्व संकलन हुने उनको विश्वास छ । ‘अझै तीन महिना बाँकी नै छ, दैनिक राजस्व संकलन राम्रै छ । हुँदैन कि भनेर आत्तिइहाल्नुपर्ने अवस्था छैन,’ उनले भने ।

चोरीनिकासीका ३७९ मुद्दा
विराटनगर भन्सार कार्यालयले चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा चोरी निकासी पैठारीका ३ सय ७९ वटा मुद्दा दर्ता गरेको छ । भन्सार गस्तीबाट १३ वटा मुद्दा दर्ता भएकोमा ४ लाख ८ हजार रुपैयाँ मूल्यबराबरको अवैध सामान वरामद भएको छ । त्यस्तै, सशस्त्र प्रहरी भन्सार राजस्व गस्ती टोलीद्वारा दर्ता गरिएको १ सय ३३ वटा मुद्दामा ९८ लाख ३८ हजार रुपैयाँ र सशस्त्र प्रहरी बलद्वारा दर्ता भएका २ सय ३३ वटा मुद्दामा १ करोड १३ लाख ८१ हजार रुपैयाँ मूल्यबराबरका सामान वरामद भएको सूचना अधिकारी पौडेलले जानकारी दिए ।

१० वस्तु ४९ अर्बको आयात, १५ अर्बको निर्यात
चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा विराटनगर भन्सार नाका भएर ४९ अर्ब २ करोड ४९ लाख ६५ हजार रुपैयाँ मूल्यका उत्कृष्ट १० वस्तु आयात भएका छन् । त्यस्तै, १५ अर्ब ४५ करोड ३४ लाख ६४ हजार उत्कृष्ट १० वस्तु निर्यात भएका छन् ।

कार्यालयका अुनसार १० अर्ब ६२ करोड मूल्यबराबरको १ लाख ५२ हजार २ सय ६८ किलोलिटर हाइस्पिड डिजेल, ७ अर्ब ९४ करोड ३४ लाख मूल्यबराबरको १३ करोड ९५ लाख ९४ हजार ७७९ किलो एमएस बिलेट, ३ अर्ब ८३ करोड १७ लाख ९ हजार मूल्यबराबरको ३८ करोड ६२ लाख १ हजार ६८३ थान तयारी कपडा, २ अर्ब ९२ करोड ४७ लाख ६२ हजार मूल्यको ४६ हजार ३४४ किलोलिटर पेट्रोल आयात भएको भन्सार कार्यालयका सूचना अधिकारी पौडेलले जानकारी दिए ।

समीक्षा अवधिमा ५ अर्ब ६६ करोड मूल्यबराबरको ३ करोड ८५ लाख १६ हजार १६० किलो पोलिथिन दाना, ४ अर्ब ८३ करोड ९२ लाख ९९ हजार रुपैयाँबराबरको ६ करोड ४५ लाख ८५ हजार ४०४ किलो सीआर सिट, ५ अर्ब ४१ करोड ९१ लाख १ हजार रुपैयाँबराबरको स्टिल वायर रड इन क्वायल र एमएस आयात भएको छ ।

सो अवधिमा ३ अर्ब ४२ करोड १८ लाख १ हजार रुपैयाँबराबरको एलपी ग्यास, ३ अर्ब १५ करोड २० लाख ८२ हजार रुपैयाँको एचआर सिट, १ अर्ब २० करोड ३१ लाख १७ हजार मूल्यबराबरको सिमेन्ट क्लिंकर आयात भएको भन्सार कार्यालयको तथ्यांकमा उल्लेख छ ।

१५ अर्बको निर्यात
चालू आवको चैतसम्ममा विराटनगर भन्सार नाका भएर भारतलगायत तेस्रो मुलुक १५ अर्बका १० बस्तु (बढी निर्यात हुने) निर्यात भएको छ । सो अवधिमा ३ अर्ब ४१ करोड २२ लाख ९८ हजार मूल्यको सेन्थेटिक यार्न, २ अर्ब ४२ करोड ७५ लाख ९० हजार मूल्यको खजुरको प्रशोधित तेल, २ अर्ब ९० लाख २४ हजार रुपैयाँ मूल्यको जुटका बुनिएका कपडा, १ अर्ब ७६ करोड २४ लाख २१ हजारको जुटका बोरा झोला, १ अर्ब ३८ करोड १३ लाख ३९ हजारको रेसाको कपडा, १ अर्ब २ लाख २० हजार रुपैया मूल्यको अलैँची, ६५ करोड ७३ लाख ४९ हजारको जस्तापाता, ६३ करोड २४ लाख २ हजारको कपर सिट र ५८ करोड ५५ लाख १० हजार रुपैयाँबराबरको पिना निर्यात भएको तथ्यांक छ ।

प्रकाशित समय : १९:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु