काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपालीले खान्छन्, वार्षिक ६३ हजार टन चाउचाउ

60.33K
shares

विश्वमै धेरै चाउचाउ र यस्तै खालका ‘नुडल्स’ खाने देशहरूमध्ये नेपाल प्रतिव्यक्ति उपभोगका आधारमा तेस्रो प्रमुख देशमा परेको छ । ‘वर्ल्ड इन्स्ट्यान्ट नुडल्स एसोसिसयन’ (विना)का अनुसार प्रतिव्यक्ति उपभोगका आधारमा कोरिया पहिलो नम्बरमा छ भने त्यसपछि भियतनाम र नेपाल परेका छन् ।

उक्त संस्थाका अनुसार कोरियामा चाउचाउ उपभोग प्रतिव्यक्ति औसत चाउचाउ उपभोग ७३ दशमलव ७ ‘सर्भिङ्स’ रहेको छ भने भियतनाममा ५३ दशमवलव ५ र नेपालमा ५१ दशमलव १ ‘सर्भिङ्स’छ । एक ‘सर्भिङ्स’मा औसत ७० ग्राम चाउचाउ हुन्छ । यसको अर्थ कोरियालीहरूले वार्षिक औसत ७४ प्याकेट चाउचाउ खाँदा नेपालीहरूले ५१ प्याकेट चाउचाउ खान्छन् ।

विश्वभरिका तयारी चाउचाउ उत्पादक कम्पनीहरूको संगठन विनाका अनुसार विश्वमै सर्वाधिक चाउचाउ उपभोग हुने १५ देशमध्ये १० वटा एसियामै पर्छन्, नेपाल यो सूचीको १३ औं स्थानमा छ ।

नेपाल राष्ट्र बैंकका अनुसार नेपालमा रहेका चाउचाउ उद्योगहरूको जडित क्षमता ८५ हजार मेट्रिक टन रहेकोमा आर्थिक वर्ष २०७४/७५ मा ६२ हजार १२३ टन उत्पादन भएको थियो । गत आर्थिक वर्ष २०७४/७५ को पहिलो ६ महिनामा चाउचाउ उद्योगको जडित क्षमता ५० हजार ५० टनमा रह्यो भने ३२ हजार ६३ टन उत्पादन भयो । अघिल्लो वर्ष ०७४/७५को ६ महिनामा ३१ हजार ७१३ टन उत्पादन भएको थियो ।

नेपालभरि झन्डै एक दर्जन चाउचाउ उद्योग रहेकोमा अहिले मुख्यरुपमा तीन वटा ठूला चाउचाउ उद्योगहरू चौधरीको वाइवाई, शारदा ग्रुपको रमपम, केसी समूहको राराबीच मुख्य प्रतिष्पर्धा छ । झापामा गत वर्षमात्र झन्डै एक अर्ब रुपैयाँको लागतमा मनषा थाइ फुड्सले बजारमा आफ्ना उत्पादनहरू पठाउन थालिसकेको भए पनि तीव्र बजारीकरण गर्न नसकेकाले खासै बजार हिस्सा ओगट्न सकेको छैन ।

सीजी फुड्स, गण्डकी नुडल्स, एसियन थाई फुड्स, क्वालिटी थाई फुड्स्, स्मार्ट फुड्स, जगदम्बा फुड्सलगायतका कम्पनीले अहिले बजारमा विभिन्न ब्रान्डका चाउचाउ उत्पादन गरेर पठाउने गरेका छन् । कुनै समय चौधरीको वाइवाइसँग सोझो प्रतिष्पर्धा गरिरहेको खेतान ग्रुपको हिमालयन स्न्याक्स एन्ड नुडल्स भने अहिले बन्द छ ।
हाल चाउचाउ उद्योगहरू काठमाडौं, विराटनगर, पोखरा, रुपन्देही–भैरहवा, नवलपरासीमा स्थापना भएका छन् ।

चौधरी ग्रुपका एक आन्तरिक प्रतिवेदन अनुसार उक्त समूहद्वारा नेपाल भारत, साइबेरियालगायतका मुलुकको प्लान्टहरूबाट वार्षिक २.२ अर्ब प्याकेट चाउचाउ उत्पादन हुने गरेको छ । नेपालमै रहेका तीन वटा प्लान्टको प्रतिमिनेट ६१५ प्याकेट चाउचाउ उत्पादन क्षमता छ ।

चौधरी ग्रुपले नेपाली चाउचाउ बजारको ४५ प्रतिशत हिस्सा ओगटेको दाबी गर्दै आएको छ भने रमपमलगायतका ब्रान्ड उत्पादन गर्दै आएको एसियन थाइ फुड्स २० देखि २५ प्रतिशत बजार हिस्सा आफ्ना उत्पादनले ओगटेको दाबी गरेको छ ।

यस्तै, रारा चाउचाउका उत्पादक गण्डकी नुडल्सले कुल ‘ह्वाइट नुडल्स’ बजारको ७० प्रतिशत आफूले ओगटेको दाबी गरेको छ । समग्र चाउचाउ बजारमा भने उसको हिस्सा १५ प्रतिशतको हाराहारीमा भएको दाबी छ ।

चौधरी ग्रुपका भाइस प्रेसिडेन्ट (उत्पादन) जीपी साहले एक अन्तर्वार्तामा चाउचाउको कारोबारमात्र साढे ७ अर्ब रुपैयाँ भएको बताएका छन् । यो विश्व बजारको समेत कारोबार हो ।

नेपालका बजारमा मात्र वार्षिक ३ अर्ब रुपैयाँको वाइवाइ बिक्री हुने गरेको सोही ग्रुपको प्रतिवेदनमा उल्लेख गरिएको छ । यसलाई बजार हिस्साको ४५ प्रतिशत मान्दा नेपालीहरूले बर्सेनि  सवा ७ अर्ब रुपैयाँको चाउचाउमात्रै खाने गरेको देखिन्छ । यसमा साना तथा घरेलु उद्योगहरूले उत्पादन गर्ने सिन्के चाउचाउको कारोबार रकम जोडिएको छैन ।

चाउचाउ उद्योगीहरूका अनुसार नेपालका चाउचाउको बजार वार्षिक २० देखि २५ प्रतिशतले बढ्दै गएको छ ।

‘कोरियनहरूले अत्याधिक चाउचाउ खान्छन्, रेष्टुराँ तथा स्टलहरूमा समेत चाउचाउ पाइन्छ । भियनाम र नेपालमा तयारी चाउचा ब्रेकफास्ट र रात्रिको स्न्याक्सका रूपमा प्रचलित छ,’ विश्व चाउचाउ उत्पादक एसोसियसन (विना)ले भनेको छ ।

एसोसियसनका अनुसार नेपालमा ‘ब्राउन’ र ‘ह्वाइट’ नुडल्सको प्रचलन भए पनि बढीमात्रामा ‘ब्राउन’ चाउचाउ खपत हुने गरेको छ । पहिला नै मसाला हालेर पकाइ सकिएको यस्तो चाउचाउ काँचै र पकाएर दुवै रुपमा खाने गरिएको उसले जनाएको छ ।

उक्त संस्थाका अनुसार नेपालको वार्षिक चाउचाउ खपत वार्षिक १ अर्ब ४८ करोड ‘सर्भिङ्स’ रहेको छ । जनसंख्या र उपभोगका आधारमा विश्वकै पहिलो स्थानमा रहेको चीनमा वार्षिक चाउचाउ खपत ३८ अर्ब ९८ करोड ‘सर्भिङ्स’ रहेको छ भने छिमेकी मुलुक भारतमा ५ अर्ब ४२ करोड ‘सर्भिङ्स’ रहेको छ ।