गृहपृष्ठ हिङ : पखालादेखि हिस्टेरियासम्म उपयोगी
हिङ : पखालादेखि हिस्टेरियासम्म उपयोगी
हिङ हाम्रो भान्छामा कहिलेकाहीँ प्रयोग हुने वस्तु हो । प्रायः मानिसले यसको गन्ध नै रूचाउँदैनन् । मानव स्वास्थ्यका लागि भने यो गुणकारी मानिन्छ । आयुर्वेदिक उपचारमा यसको महत्व अझ बढी पाइन्छ ।
हिङ एक प्रकारको वनस्पतिको खोटो हो । यो प्रजातिको वनस्पति अफगानिस्तानको हिमाली क्षेत्रमा पाइने फेरुला वर्गका बहुवर्षीय पोथ्राहरूको जराबाट निकालिन्छ । हिङको खेती अफगानिस्तानको हिमाली क्षेत्र आसपासका भारतीय तथा इरानी भूभागहरूमा गरिन्छ ।
हिङ अनेकौं किसिमका रोगहरुको उपचारमा प्रयोग गरिन्छ । हिङलाई घिउमा फुराएर मात्र औषधिको रुपमा प्रयोग गर्नुपर्छ । छालामा लगाउन भने नफुराईकन प्रयोग गर्न सकिन्छ ।
शुद्ध हिङ मात्र औषधीका रूपमा प्रयोग गर्नुपर्छ । पेट मडारिने घोच्ने, दुख्ने, लगातार दिसा लाग्ने समस्या भएमा हिङलाई औषधीका रूपमा उपयोग गर्न सकिन्छ । सर्वप्रथम हिङ, जाइफल, केशर र मरिच १५\१५ ग्राम मिसाएर धुलो पार्नुपर्छ । उक्त धुलो तातो पानीले मुछेर केराउको गेडा जत्रा गोली बनाई सुकाउनुपर्छ । सुकेका गोली आवश्यकताअनुसार १-२ गोली मनतातो पानीसँग खाएमा यस्ता समस्याबाट मुक्त हुन सकिन्छ ।
पाकेका आँपको कोया आगोमा पोलेर त्यसभित्रको गुदी निकाली त्यसमा १\४ भाग हिङ र सिदेनुन मिसाएर हावा नछिर्ने गरी सिसीमा राख्नुपर्छ । कब्जियत र अधिक वायु भयो भने आवश्यकता अनुसार यही औषधी १-२ ग्राम मनतातो पानीसँग खाने गरेमा १-२ दिनमै ठिक हुन्छ ।
ठूलो चम्चाको ४ चम्चा शुद्ध तोरी वा नरिवलको तेलमा ६ गेडा लसुन, सानो चम्चाको आधा भाग हिङ र सानो चम्चाले १ चम्चा सिदेनुनको धूलो मिसाएर कालो हुन्जेल तताउने अनि छानेर हावा नछिर्ने गरी सिसीमा बिर्को लगाएर राख्नुपर्छ । यो औषधी कान दुख्ने, पिप आउने वा खटिरा भएमा कान सफा गरी बिहान-बेलुका ४-४ थोपा हाल्नाले कानको रोग निको हुन्छ ।
ज्वानो, मरिच, पिप्ला, जिरा, सुठो र सिदेनुन र हिङ बराबर मात्रामा तयार गरी हिङबाहेकका वस्तु मिसाएर धुलो बनाउनुपर्छ । घिउमा पहिले हिङ फुराउने र सबै धूलोलाई मिसाएर राम्ररी तताउनुपर्छ । सेलाएपछि त्यसमा अलिकति सानो हर्रोको धूलो पनि राम्ररी मिसाएपछि हिङवाष्टक चूर्ण तयार हुन्छ । चूर्ण हावा नछिर्ने गरी सिसीमा राख्नुपर्छ । पेटसम्बन्धी समस्या अम्लपित्त, अजीर्ण, मन्दाग्नि, खाना, अपच, खाना नरुच्ने आदि समस्या भएमा १-१ चम्चा हिंगवाष्टक चूर्ण मनतातो पानीसँग १५ दिनजति खाँदा लाभ हुन्छ ।
कम्मर दुख्ने, शूल, धेरै पखाला, महिलालाई हुने हिस्टेरियाजस्ता रोगमा हिङको उपयोग लाभदायी भए पनि हिजोआज यी वस्तु जम्मा गरेर औषधी तयार पारेर सेवन गर्नु असम्भवप्रायः हुनाले सिपालु चिकित्सकको परामर्श लिन उपयुक्त हुनेछ ।
प्रकाशित समय : १८:५० बजे



















