global ime bank Long Banner Ad

गृहपृष्ठ फूलको डोली चढाउन भक्तजनको भीड

फूलको डोली चढाउन भक्तजनको भीड

फूलको डोली चढाउन भक्तजनको भीड

तनहुँको भानु नगरपालिका–७ स्थित थानीमाई मन्दिरमा फूलको डोली चढाउन आज बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

कात्तिक महिनाको प्रत्येक मङ्गलबार मन्दिरमा फूलको डोली चढाउने धार्मिक परम्पराका कारण बिहानैदेखि मन्दिरमा फूलको डोली चढाउन भक्तजनको आगमन बढेको हो ।

फूलको डोली लिएर मन्दिर पुग्नुभएका ब्यास नगरपालिका–२ का महेश मल्लले बिहानैदेखि मन्दिरमा भक्तजनको ठूलो भीड लागेको जानकारी दिए ।

फूलको डोली चढाउन तनहुँबाट मात्र नभई देशका विभिन्न ठाउँबाट भक्तजन आएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन थापाले जानकारी दिए । थापाका अनुसार सोमबार रातिदेखि नै मन्दिरमा भक्तजनको आगमन भएको थियो । थुप्रै भक्तजनले राति नै मन्दिरमा बसेर बत्तीसमेत बालेका थिए ।

सोमबार सत्यनारायणको पूजा गरी फूलको डोली तयार गर्ने र थानीमाई मन्दिरमा फूलको डोली चढाउने परम्परा रहँदै आएको छ । थानीमाई मन्दिरमा कात्तिकसँगै मङ्सिर र माघ महिनामासमेत भक्तजनको भीड लाग्ने गरेको छ ।

मन्दिरमा फूलको डोली चढाउन छिमेकी जिल्ला गोरखा, लमजुङ, कास्कीका अलवा चितवन, नवलपरासी र काठमाडौँबाट भक्तजन आउने गरेका छन् । मन्दिरमा साउन, एकादशी र औंशी बाहेकका दिनमा पूजाअर्चना हुँदै आएको छ ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षति पुगेको मन्दिरको पुनःनिर्माण सम्पन्न भइसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु १४ लाख र मन्दिरको भेटीबाट सङ्कलित रु ६ लाख गरी रु २० लाखको लागतमा मन्दिरको पुनःनिर्माण गरिएको थियो ।

विसं १८२५ बाट यस मन्दिरमा पूजाअर्चना शुरु भएको स्थानीयवासी बताउँछन् । विसं १८२५ मा मन्दिर भएको ठाउँमा आमाछोरी हावाहुरी चलेपछि एक रुखमा ओत लाग्दा त्यहाँबाट अन्र्तध्यान भएको किंवदन्ती रहेको र सोही समयदेखि नै उक्त स्थानमा पूजाअर्चना शुरु भएको स्थानीयवासीको भनाइ छ । रासस

प्रकाशित समय : १९:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु