काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सहकारीहरू एकीकरण गरी संख्या घटाउन सुरू

13.63K
shares

काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा रहेका सहकारीलाई एकापसमा एकीकरण गरी संख्यात्मक रूपमा कम गर्ने कार्य सुरु गरेको छ । हाल कामपामा एक हजार ८५६ सहकारी संस्था रहेका छन्, जसलाई घटाएर ७०० बनाउने योजनाको साथ कामपा लागिपरेको छ ।

संवैधानिक व्यवस्थाअनुसार विसं २०७५ साउन १ गतेदेखि देशका सबै डिभिजन सहकारी कार्यालय खारेजी भई सम्बन्धित स्थानीय तहले सहकारी नियमन गर्नुपर्ने व्यवस्थाअनुरुप कामपाले आफ्ना क्षेत्रभित्रका साना सहकारीलाई एकीकरण गर्ने प्रक्रिया थालेको हो ।

गाभिए चार सहकारी

केही दिनअघि मात्र कापमाले वडा नं २४ को विराज बचत तथा ऋण सहकारी र वडा १३ को सप्तदीय बहुउद्देश्यीय सहकारीलाई एकापसमा एकीकरण गरी सप्तदीप बचत तथा ऋण सहकारी संस्थाको रूपमा सञ्चालन प्रक्रिया सुरु गरेको छ भने वडा नं २२ मा रहेको  सिटीभिलेज बचत तथा ऋण सहकारी संस्था र ३२ वडाको तपस्वी बचत तथा ऋण सहकारीलाई एकीकरण गरेर सिटीभिलेज बचत तथा ऋण सहकारी संस्थाका रूपमा सञ्चालन भइरहेको छ ।

कामपा प्रशासन प्रमुख नमराज ढकालका अनुसार मापदण्ड बाहिर सञ्चालित साना सहकारी धेरै रहेकाले तिनको सही व्यवस्थापन गर्न एकीकृत प्रणालीअनुरुप जान लागिएको हो । १ हजार ८५६ सहकारी घटाएर ७ सय बनाउने कामपाको लक्ष्य रहेको जनाइएको छ । सहकारी ऐन २०७४ र कामपाको सहकारी ऐन २०७४ अनुरूप कानुनी रूपमा नै एकीकृत गर्न सकिने व्यवस्था छ । सहकारीलाई एक बनाउन दुई सहकारी एकअर्कामा एकीकृत हुन तयार रहनुपर्छ ।

एकीकृत हुन चाहने दुईवटै सहकारीले कामपाको सहकारी विभागमा निवेदन दिनुपर्छ । त्यसपछि कामपाले थप प्रक्रिया अघि बढाउने प्रमुख ढकालले जानकारी दिए । सहकारी गाभ्न कामपाको चाहनाले मात्र नहुने हुँदा सञ्चालकले इच्छा राख्नुपर्छ । समान प्रकृतिका सहकारी एकापसमा गाभ्न सकिनेछ । सर्वसाधारण ठगी गरेको भन्दै सहकारीविरुद्ध ६० मुद्दा परेकामा ३५ को फर्छ्योट गरिसकेको विभागले जनाएको छ ।

अनुगमन गर्दै महानगर

कामपाले पछिल्लो समय सहकारीको अनुगमन सुरु गर्ने कार्यलाई अगाडि बढाएको छ । पहिलो चरणमा नियम बाहिर रहेर सञ्चालन भई पत्रचार गरिएकालाई कारबाहीको प्रक्रिया अघि बढाइनेछ । दोस्रो चरणमा अन्यलाई अनुगमन गरी आवश्यकताअनुरूप निर्देशन दिइने बताइएको छ । निर्देशन पालना नगरे कामपाको सहकारी ऐनअनुरूप कारबाहीको प्रक्रिया अघि बढाउने प्रमुख ढकालले बताए । सबै सहकारी काठमाडौँ महानगरपालिका सहकारी ऐन २०७४ अनुसार सञ्चालन गरिनुपर्नेछ ।

कामपाका सहकारीमा करिब दुई लाख सदस्य छन् भने आठ हजारले रोजगारी पाएका छन् । सबै सहकारीबाट करिब ७ अर्ब रुपैयाँ सेयर, करिब ५२ अर्ब रुपैयाँ बचत परिचालन र ४१ अर्ब रुपैयाँ बराबरको ऋण प्रवाह भएको ढकालले जानकारी दिए ।

सहकारी दर्ता हुनेक्रम दिनदिनै बढिरहेको छ । सहकारी विभाग प्रमुख ढकालले भन्नुभयो, ‘आगामी दिनमा नयाँ सहकारीलाई सञ्चालनका लागि अनुमति दिनेभन्दा पनि सञ्चालनमा रहेकालाई नियमन र निर्देशन गरी राम्रो बनाउनेतर्फ हाम्रो जोड रहनेछ ।’

सबै सहकारीलाई दैनिक रूपमा अनलाइनमार्फत आफ्नो जानकारी गराउन पनि कामपाले निर्देशन दिएको छ । आफ्नो सहकारी दैनिक रूपमा कति आर्थिक कारोबार गर्छ, लगानी र संकलन भएको कति भन्ने विषयमा दैनिक जानकारी गराउनुपर्नेछ ।

बचत तथा ऋण सहकारी सञ्चालन गर्न १ सय सदस्य रहनुपर्ने, सञ्चालक सदस्यमध्ये ५० जनाले अनिवार्य रूपमा तालिम लिएको हुनुपर्ने, सदस्यमध्येकै ८० प्रतिशतले सहकारी सञ्चालन हुने क्षेत्रमा नै बसोवास गरेको हुनुपर्ने कानुनी प्रावधान छ । पछिल्लो समय सहकारीको संख्यामा वृद्धि भएसँगै सानाठूला गरी देशभर ३५ हजार सहकारी सञ्चालनमा छन् । (रासस)