काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

हराउँदै ‘फेरी’को भाका, परम्परा धान्दै अर्जुन

819
shares

भोजपुर। पुर्खौँदेखि चलिआएको परम्परागत ‘फेरी’ लगाउने पेसा लोप हुने अवस्थामा पुगेपछि भोजपुरका अर्जुन जोगी यसको संरक्षणमा जुट्नुभएको छ । आधुनिक जीवनशैली र बदलिँदो सामाजिक परिवेशका कारण परम्परागत पेसाप्रति आकर्षण घट्दै गएपछि उनले आफ्नो पुख्र्यौली पेसालाई निरन्तरता दिँदै आएको हो ।

भोजपुरको अरुण गाउँपालिका–१ याङपाङ निवासी जोगीले विगत दुई दशकदेखि कात्तिक, चैत र साउन महिनामा गाउँघर घुमेर रातको समयमा फेरी लगाउँदै आएको छन् । उनले एक महिनामा करिब २० देखि २५ दिनसम्म फेरी लगाउँदै गाउँबस्ती डुल्ने गरेको बताए ।

परम्परागत रूपमा फेरी लगाउँदा गाउँघरमा सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने धार्मिक विश्वास रहँदै आएको छ । फेरी लगाउने जोगीले रातको समयमा घरघरमा पुगेर मन्त्रसहित परम्परागत विधिअनुसार फेरी लगाउने प्रचलन छ । यसलाई स्थानीयले धार्मिक आस्था र सांस्कृतिक परम्पराका रूपमा लिने गरेका छन् ।

फेरी लगाउन गाउँघर पुग्ने जोगीलाई स्थानीयवासीले चामल, धान, मकै, कोदो, नगद तथा अन्य अन्नपात दिने परम्परा रहेको छ । आफ्नो गच्छेअनुसार सामग्री दिने प्रचलनले फेरी लगाउने जोगीको जीविकोपार्जनमा सहयोग पुग्ने गरेको छ । फेरी लगाउने र सामग्री दिने चलनले गाउँघरमा परम्परागत धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई निरन्तरता दिँदै आएको छ ।

स्थानीय परम्परा र संस्कृतिसँग जोडिएको फेरी लगाउने पेसा विगतमा धेरैले अपनाउने गरेका थिए । याङपाङमा कुनै समय १८ देखि २० घरपरिवारले फेरी लगाउने पेसा गर्दै आएको भए पनि अहिले घटेर दुई जनामा सीमित भएको जोगीले बताए ।

पुर्खौँदेखि चलिआएको यो पेसाको संरक्षण तथा स्थानीय मौलिक संस्कृति, परम्पराको जगेर्नासँगै नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले यसको निरन्तरताका लागि आफूले प्रयास गरिरहेको उनको भनाइ छ ।

समयक्रमसँगै नयाँ पुस्ता परम्परागत पेसाबाट टाढिँदै गएको अवस्थामा फेरी लगाउने चलन सङ्कटमा पर्दै गएको उहाँको भनाइ छ । पहिले गाउँघरमा व्यापक रूपमा प्रचलनमा रहेको यो परम्परा अहिले सीमित व्यक्तिले मात्र धान्दै आएका छन् । परम्परागत पेसा र संस्कृतिको संरक्षणका लागि नयाँ पुस्तामा यसको महत्व बुझाउन आवश्यक रहेको उनले बताए ।