काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

असी वर्षे वृद्धको सुपारीखेती …

651
shares

सुनसरी।उमेरले ८० वर्ष पुगेका इनरुवा नगरपालिका–४ महेन्द्र चोकका गोविन्दबहादुर कार्कीको जाँगर भने अझै तन्नेरीको जस्तै छ । उनि बिहानदेखि बेलुकासम्म आफ्नै सुपारी बगानमा समय बिताउछन् । डेढ बिघा क्षेत्रफलमा फैलिएको उनको सुपारी बगानको चिटिक्क परेको स्वरूपले त्यहाँ पुग्ने जोकोहीलाई आकर्षित गर्छ ।

लहरै लाइन मिलाएर रोपिएका सुपारीका बिरुवा, व्यवस्थित र सफा बगान प्रत्येक बोटको फेदमा रङ्ग्याइएको सेतो चुनले बगानलाई थप आकर्षक बनाएको छ । पुख्र्यौली रूपमा खेतीकिसानी गर्दै आएका कार्कीले १५ वर्षअघि रहरले सुरु गरेका सुपारीखेती अहिले आम्दानीको राम्रो स्रोत बनेको छ ।

पुख्र्यौली घर तेह्रथुम भए पनि उनको परिवार बसाइँ सरेर सुनसरी आएको थियो । उनले धरानमा प्रवेशिकासम्मको अध्ययन गरेका थिए । “लाहुरे बन्ने सपना पनि आएन, विदेश जाने सोच पनि भएन । खेतीकिसानी गरियो, धान, मकै लगाइयो”, कार्कीले भने ।

झापाको बिर्तामोड जाँदा त्यहाँको सुपारीखेती देखेपछि आफूलाई पनि रहर जागेको उनले बताए । “त्यहाँ काकाको सुपारी खेती देखे । अन्य किसानले गरेको खेती देखेर प्रेरित भए”, उनले भने । आजभन्दा १५ वर्षअघि १०० वटा सुपारीका बिरुवा ल्याएर रोपेँ । चार, पाँच वर्षपछि फल्न थाल्यो । त्यसपछि त्यही फलबाट आफैँले बिरुवा उत्पादन गर्दै गएँ र खेती विस्तार गरेँ । डेढ बिघा क्षेत्रफलमा फैलिएको उनको बगानमा झन्डै एक हजार २०० सुपारीका बोट छन् । सुरुमा रोपिएका बिरुवाले हरेक वर्ष फल दिँदै आएको छ भने बाँकी बिरुवा हुर्किरहेका छन् । सुरुमा रोपिएका बिरुवाबाट हाल उनले वार्षिक एक लाखभन्दा बढी मूल्यको सुपारी बिक्री गर्दै आएको छन् ।

“यहाँका सबै बिरुवाले एक, दुई वर्षभित्र फल दिन थाल्छ । रहर लागेर सुरु गरेको व्यवसाय राम्रो भएको छ । खेतीमा खुब जाँगर चल्छ, मलाई साह्रै खुसी लागेको छ”, उनले भने । सुनसरीमा पनि सुपारी खेती हुन्छ भन्ने धेरैलाई जानकारी छैन । पानी नजम्ने जमिन भए जुनसुकै ठाउँमा पनि सुपारीखेती गर्न सकिने उहाँ बताउछन् । सुपारी उत्पादन भएपछि बजारको समस्या नहुने उनको भनाइ छ ।

हरेक वर्ष व्यापारी आफँै बगानमै आएर बारी ठेक्कामा लिन्छन् र सुपारी पाकेपछि आफैँ आएर टिपेर लैजान्छन् । कहिलेकाहीँ साना व्यापारी खुद्रा किन्न आउँदा प्रतिकेजी ७० का दरले थोरैथोरै बिक्री गर्छु । “प्रायः व्यापारी दमकबाट आउँछन् र सुपारी लैजान्छन्”, उनले भने ।

सुपारीखेती सुरु गर्दा बिरुवा रोप्ने समयमा केही मेहनत गर्नुपर्ने भए पनि त्यसपछि धेरै स्याहार गर्न नपर्ने उहाँको अनुभव छ । वर्षमा एकपटक मल लगाउनुपर्छ । सुपारीको बोटको फेदमा चुन लगाउँदा कमिला र किराको प्रकोपबाट जोगाउन सकिने उनले बताए । चुन र मललगायत खेतीमा वार्षिक करिब २० हजार खर्च हुने गरेको कार्कीले बताए ।

धान र मकैखेतीको तुलनामा सुपारी खेतीबाट राम्रो आम्दानी हुने उनको अनुभव छ । “एक बिघामा धानखेती गर्दा धेरै दुःख गरेर पनि रु एक लाख आम्दानी गर्न सकिँदैन । सुपारी खेतीबाट भने राम्रो आम्दानी हुन्छ”, उनले भने ।

उनले बगानको रेखदेखका लागि तलब दिएर एक जना कामदार राखेका छन् । बाँकी काम भने उहाँ आफैँ र श्रीमती डम्बरकुमारी कार्कीले सहायता गर्छन् । सुपारी खेतीमा भैँसीको गोबरसँगै डिएपी र पोटास मल प्रयोग गर्ने गरेको उनले बताए । यो खेतीबाट राम्रो आम्दानी हुने अनुभव सुनाउँदै कार्कीले व्यावसायिक खेती गर्न चाहने युवा यसमा लाग्दा झनै राम्रो हुने सुझाव दिन्छन् ।

“व्यवसाय गर्न चाहने युवाले सुपारीखेती गर्दा हुन्छ । थोरै लगानीमा राम्रो आम्दानी गर्न सकिन्छ । धेरै मेहनत पनि गर्नुपर्दैन”, उनले भने । कार्कीलाई आफ्नो बगानमा काम गर्न उत्तिकै जाँगर चल्छ । सुपारीखेती आम्दानीको माध्यम मात्र नभई दिन बिताउने र खुसी प्राप्त गर्ने आधार बनेको उनको भनाइ छ । “साह्रै राम्रो छ, दिनभरि यही बगानमा आनन्दले समय बिताउन सकिन्छ”, उनले भने ।